योगेश भट्टराई देउवाकै प्रस्तावमा : संघ र प्रदेशको निर्वाचन एकैपटक गरौँ
प्रकाशित २०७४ साउन १४ शनिबार
235
Shares
काठमाडौँ । एमाले सचिव योगेश भट्टराईले संघ र प्रदेशको निर्वाचन एकैपटक गर्नुपर्ने बताएका छन् । गुरु लुर्इंटेल अध्ययन तथा विकास केन्द्रले आयोजना गरेको ‘समृद्ध राष्ट्र निर्माणका लागि स्थानीय तहको निर्वाचन’ विषयक विचार गोष्ठीमा उनले समय अभावका कारण दुईवटा निर्वाचन एकैपटक गर्नुपर्नेमा जोड दिए ।
केही दिनअघि प्रधानमन्त्री शेरबहादुर देउवाले संघ र प्रदेशको चुनाव एकैपटक गर्ने कुराको उल्लेख गर्दै उनले भने, “प्रधानमन्त्रीले भनेजस्तै दुईवटाको निर्वाचन एकैपटक गर्नु पर्दछ । हामीले उहाँले भनेको कुराको यसको समर्थन गर्नुपर्छ । यसरी गर्दा राम्रो पनि हुन्छ ।”
उनले दुवै चुनाव एकैपटक गर्नेगरी चाँडो मिति तोक्न सरकारलाई आग्रह गरे । सचिव भट्टराईले मंसिरमा नै दुवै निर्वाचन गर्नेगरी क्षेत्र निर्धारण आयोगले आफ्नो कामलाई गति दिनुपर्ने धारणा राखे ।
एमाले प्रचार विभाग प्रमुखसमेत रहनुभएका सचिव भट्टराईले अझै पनि राष्ट्रिय जनता पार्टीले संविधान संशोधनको कुरा उठाएर निर्वाचनमा जान आनाकानी गरिरहेको उल्लेख गरे ।
उनले संविधान संशोधन र स्थानीय तहको निर्वाचनमा कुनै साइनो नभएको भन्दै प्रदेश र केन्द्रको चुनावपछि संशोधनका बारेमा कुरा गर्न सकिने धारणा राखे ।
छ वटा प्रदेशमा जसरी संविधान संशोधनबिना नै निर्वाचन भए जस्तै प्रदेश नं २ मा पनि निर्वाचन गर्नुपर्ने बताए । उनले तीनै तहको निर्वाचनपछि राजनीतिक संक्रमणकालको अन्त्य हुने जिकिर गरे ।