नैतिकताको संकटबाट काँग्रेसलाई बचाउन आवश्यक : नेता पौडेल
प्रकाशित २०७४ साउन १५ आइतबार
507
Shares
पोखरा। नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले नैतिकताको संकटबाट पार्टीलाई बचाउनु आवश्यक भएको बताएका छन् । नेपाल विद्यार्थी सङ्घ पश्चिमाञ्चल इञ्जिनियरिङ क्याम्पस इकाईद्वारा आइतबार आयोजित बिपी स्मृति पार्क उद्घाटन एवम् चौथो वर्षका विद्यार्थीको बिदाई समारोहमा पौडेलले प्रजातान्त्रिक विचार र मूल्य मान्यतालाई आत्मसात् गर्दै राम्रो आचारण तथा व्यवहारलाई प्रत्येक काँग्रेसका कार्यकर्ताले अङ्गिकार गर्नुपर्ने बताए ।
“राजनीति सम्मानित बन्नु आवश्यक छ, सम्मानित हुने किसिमको आचरण र व्यवहार नेता तथा कार्यकर्तामा हुनुपर्छ,” उनले भने, प्रत्येक सर्वसाधारणको दिलमा सकारात्मक प्रभाव पार्ने किसिमले राजनीतिकर्मीले आफूलाई उभ्याउन सक्नुपर्छ ।”
लोकतन्त्रमा शक्ति भनेको जनताको अन्तरमनदेखिको समर्थन भएको बताउँदै उनले राष्ट्र र लोकतन्त्रको रक्षाका लागि काँग्रेसको नेतृत्व अपरिहार्य हुने बताए । “काँग्रेसको नेतृत्वमा भएको लामो समयदेखिको संघर्षको प्रतिफलस्वरुप राजनीतिक व्यवस्थामा टुङ्गो लागेको छ,” उनले भने, “नेपालको अबको बाटो समृद्धिको हो, यसका लागि ठोस योजनासहित अघि बढ्नु आवश्यक छ ।”
बिपीको आदर्श र विचारलाई सम्मान गर्दै उहाँको स्मृतिमा उद्यान बन्नु आफैँमा महत्वपूर्ण कार्य भएको उनले बताए । संविधानको सफल कार्यान्वयनका साथै राष्ट्र र लोकतन्त्रको रक्षाका लागि आसन्न प्रदेश र सङ्घको निर्वाचनमा काँग्रेस विजयी बन्नुपर्नेमा पौडेलको जोड थियो ।
कार्यक्रममा नेपाल विद्यार्थी सङ्घका केन्द्रीय उपाध्यक्षद्वय डिल्लीराम सुवेदी र सागर परियार, सहमहामन्त्री हरिहर शर्मा, पूर्वकेन्द्रीय सदस्य युवराज पाण्डे, गोविन्द एलसी, केन्द्रीय सदस्य भानु ढकाल, देवकृष्ण पराजुली, पश्चिमाञ्चल इञ्जिनियरिङ क्याम्पस नेवि सङ्घ इकाइका अध्यक्ष आदर्श लामिछाने, क्याम्पस प्रमुख रामप्रसाद पौडेल, नेपाली काँग्रेस कास्कीका कोषाध्यक्ष लक्ष्मी पाण्डे लगायतले आ–आफ्ना धारणा राखेका थिए ।
स्मृति पार्क निर्माण समितिका संयोजक सुमन शर्माका अनुसार १० लाख ५० हजारमा पार्क निर्माण गरिएको हो ।