अन्तरघातले पार्टीको सैद्धान्तिक आस्थामाथि नै प्रश्न उठ्यो : मन्त्री बलायर
प्रकाशित २०७४ साउन १५ आइतबार
378
Shares
भक्तपुर। नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवम् भौतिक पूर्वाधार तथा यातायातमन्त्री वीरबहादुर बलायरले स्थानीय निर्वाचनमा देखिएको अन्तरघातले पार्टीको सैद्धान्तिक आस्थामाथि नै प्रश्न चिह्न खडा गरेको बताएका छन् ।
नेपाली काँग्रेस भक्तपुरले साउन १५ गतेको अवसरमा आइतबार आयोजना गरेको खिर विशेष कार्यक्रममा मन्त्री बलायरले बलिदान र संघर्षको प्रयाय बनेको काँग्रेसभित्र अन्तरघातको खेल हुनु दुःखद भएकाले अन्तर्घातीलाई जरैदेखि उखालेर फाल्नुपर्ने बताए ।
उनले अन्तर्घात गर्नेलाई पार्टीमा कहिले पनि फर्कन नसक्ने गरी कार्बाही गर्नुपर्ने बताए । “३६४ दिन काँग्रेस बन्ने तर आवश्यकता पर्दा काँग्रेस बन्न नसक्ने कार्यकर्ता अब पार्टीलाई चाहिँदैन,” उनले भने।
मन्त्री बलायरले स्थानीय तहको निर्वाचनमा अङ्क गणितीय हार भए पनि सैद्धान्तिकरुपमा काँग्रेसको जित भएको जिकिर गरे। उनले काठमाडौँ उपत्यकामा देखिएको सडकको समस्यालाई छिट्टै समाधान गर्न स्वयम् प्रत्यक्ष रुपमा सक्रिय भएर लाग्ने प्रतिबद्धता व्यक्त गरे ।
कार्यक्रममा पूर्वजिल्ला सभापति गणेशमान चक्रधरले पार्टीको वडा र गाउँ तहको एकाई कमजोर भए संगठन नै कमजोर हुने भएकाले वडा र गाउँ एकाईलाई संगठित गर्न पार्टी सक्रिय हुनुपर्ने सुझाव दिए । जिल्ला सभापति दुर्लभ थापाले स्थानीय तहको निर्वाचनमा केही प्राविधिक समस्याका कारण हार व्यहोर्नु परेको भन्दै त्यसलाई निराकरण गर्न जिल्लाले वडावडामा प्रतिनिधि खटाएको जानकारी दिए । उनले प्रतिनिधिको सुझावका आधारमा संगठनलाई नयाँ शिराबाट संगठित गर्दै प्रदेश र संघीय संसद्को निर्वाचनमा जित हासिल गर्ने दाबी गरे। रासस