प्रजातन्त्रका योद्धा दास सिकिस्त हुँदा काँग्रेसका कुनैपनि नेतालाई चासो छैन
प्रकाशित २०७४ साउन १६ सोमबार
1k
Shares
ललितपुर । दुवै मिर्गौलाले काम गर्न छाडेपछि प्रजातन्त्रका योद्धा सुदिष्टलाल दास अहिले अस्पतालको शय्यामा छटपटाइरहेका छन् । विसं २०१६ देखि नेपाली काँग्रेसमा क्रियाशील रहँदै आएका बारा क्षेत्र नं २ का ७५ वर्षीय दासको छ महिनादेखि दुबै मिर्गौलाले काम नगरेपछि नियमित डायलायसिस भइरहेको छ । हाल उनलाई पुल्चोकस्थित निदान अस्पतालमा भर्ना गरिएको छ ।
विसं २०२४ मा वीरगन्ज चिनी कारखानामा भएको मजदुर आन्दोलनको नेतृत्व गर्नुभएका उनले त्यसपछिका प्रजातान्त्रिक आन्दोलनमा सक्रिय सहभागिता जनाएका थिए । राजनीतिमा लागेकै कारण उनी तीन वर्ष जेल सजाय र सात वर्ष भारतमा निर्वासित हुनु परेको थियो ।
विसं २०४६ पछि नेपाल ट्रेड युनियन काँग्रेसको केन्द्रीय सचिव बन्नेका दास हाल विपी चिन्तन प्रतिष्ठानको वरिष्ठ उपाध्यक्ष र नेपाली काँग्रेस बारा क्षेत्र नं २ का सदस्य छन् । लामो समयदेखि नेपाली काँग्रेसमा नै जीवन समर्पण गरेका उनी अहिले आफू सिकिस्त बिरामी हुँदा पनि पार्टीले उपचारमा कुनै चासो नदेखाएकामा निकै दुःखित छन् । ‘‘पार्टीकै लागि जीवन बिताइयो तर आज पार्टीबाट कुनै सहयोग पाउन सकिएन’’ आँशु चुहाउँदै उनले भने, ‘‘पार्टीका कुनै नेताले पनि चासोसम्म नदाउँदा झनै पीडा हुन्छ ।’’ रासस