निर्वाचन आयोगको संचारमाथि वक्रदृष्टि, प्रेस स्वतन्त्रता पक्षधरलाई एक भएर उभिन प्रेस युनियनको आग्रह
प्रकाशित २०७४ साउन १७ मंगलबार
289
Shares
काठमाडौं । नेपाल प्रेस युनियनले देशमा निर्वाचन गर्ने जिम्मा पाएको संवैधानिक निकाय निर्वाचन आयोगले २०७४ साउन १५ गतेको निर्णय भन्दै काठमाडौंबाट प्रकाशित हुने देशान्तर साप्ताहिकका सम्पादकलाई आयोगसँग सम्वन्धित समाचार सामग्रीको विषयमा प्रमाणसहित आयोगमा ३ दिनभित्र उपस्थित गराई र आवश्यक कार्वाही गराउन प्रेस काउन्सिललाई लेखि पठाएको बिषयमा गम्भिर ध्यानाकर्षण भएको जनाएको छ ।
निर्वाचन आयोगको बारेमा प्रकाशित समाचारको विषयमा आयोगले आचारसंहिता अनुगमन गर्ने एक मात्र निकाय प्रेस काउन्सिलको क्षेत्राधिकार नबुझी आदेश दिने कार्यले आश्चर्यमा पारेकोसमेत युनियनले जनाएको छ।
समाचारको बारेमा चित्त नबुझे प्रेस काउन्सिलमा उजुरी दिन सकिने प्रावधानको विपरित आयोगबाट आएको यो निर्णय र आदेश हुकुमी शासनको अवशेषको रुपमा लिएकोसमेत युनियनले बताएको छ ।
युनियनका महासचिव अजयबाबु शिवाकोटीले जारी गरेको विज्ञप्तिमा देशान्तर साप्ताहिकमाथि आयोगले लगाएको वक्रदृष्टीको विपक्षमा रहँदै सबै प्रेस स्वतन्त्रता पक्षधहरुहरुलाई एक ठाउँमा उभिइ यस घटनाको विरोध जनाउन आग्रहसमेत गरिएको छ ।
यस्तो छ विज्ञप्ति–
मिति २०७४।४।१७
प्रेस विज्ञप्ती
देशमा निर्वाचन गर्ने जिम्मा पाएको संवैधानिक निकाय निर्वाचन आयोगले २०७४ साउन १५ गतेको निर्णय भन्दै काठमाडौंबाट प्रकाशित हुने देशान्तर साप्ताहिकका सम्पादकलाई आयोगसँग सम्वन्धित समाचार सामग्रीको विषयमा प्रमाणसहित आयोगमा ३ दिनभित्र उपस्थित गराई र आवश्यक कार्वाही गराउन प्रेस काउन्सिललाई लेखि पठाएको बिषयमा नेपाल प्रेस युनियनको गम्भिर ध्यानाकर्षण भएको छ।
निर्वाचन आयोगको बारेमा प्रकाशित समाचारको विषयमा आयोगले आचारसंहिता अनुगमन गर्ने एक मात्र निकाय प्रेस काउन्सिलको क्षेत्राधिकार नबुझी आदेश दिने कार्यले हामीलाई आश्चर्यमा पारेको छ। समाचारको बारेमा चित्त नबुझे प्रेस काउन्सिलमा उजुरी दिन सकिने प्रावधानको विपरित आयोगबाट आएको यो निर्णय र आदेश हुकुमी शासनको अवशेषको रुपमा हामीले लिएका छौ।
आयोगका पदाधिकारीहरु र उनीहरुको निर्णयमा प्रश्न उठाउन नसकिने र कसैले गरेमा राज्यका अन्य निकायलाई आदेश गरि कठघरामा उपस्थित गराउने शैलीको आदेशले स्वतन्त्र प्रेसप्रतिको आयोगका पदाधिकारीहरुको धारणालाई पनि उदाङगो पारेको छ।
राज्यका हर निकाय र जिम्मेवार अधिकारीहरुमाथि उठेका प्रश्नमा जिम्मेवारीवोधका साथ हामी जवाफदेहिता अपेक्षा गर्दछौ। तर एउटा समाचार संस्थाले समाचार लेखेकै भरमा उसलाई तर्साउने र राज्यशक्तिको दुरुपयोग हुने गरि कार्वाही गराउने कार्यको युनियन विरोध गर्दछ। नेपाल प्रेस युनियन देशान्तर साप्ताहिक माथि आयोगले लगाएको वक्रदृष्टीको विपक्षमा रहँदै सबै प्रेस स्वतन्त्रता पक्षधहरुहरुलाई एक ठाउँमा उभिइ यस घटनाको विरोध जनाउन आग्रह समेत गर्दछ।
जय नेपाल