arrow

रोकिएन सुन तस्करी, के सुरक्षाकर्मीकै साँठगाँठमा भइरहेछ सुन तस्करी ?

logo
प्रकाशित २०७४ साउन १७ मंगलबार
gold.jpeg

काठमाडौं । गत पुस २१ गते शरीर नै जिरिंग पार्ने गरी एकैपटक साढे ३३ किलो अवैध सुन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट नेपाल भित्रिएपछि खुलेको सुरक्षाकर्मीको साँठगाँठ अझै रोकिएको छैन ।

निरन्तर अवैध सुन आइरहनु र फाटफुट रुपमा मात्र पक्राउ पर्नुले पनि अवैधको श्रृंखलामा कमी नआएको स्पष्ट हुन्छ । 

पछिल्लो समय सोमबार विमानस्थलबाट नेपाल प्रहरीले सशस्त्र प्रहरीका सइसहित तीन जनालाई दुई किलो सुनसहित पक्राउ गरेपछि विमानस्थलमा जतिसुकै कडाइ भए पनि सजिलै सुन बाहिर आइरहेको स्पष्ट हुन्छ ।

मलेसियन एयरलाइन्स हुँदै सिंगापुरबाट आएका नवलपरासीका लेखबहादुर रजालीले अवैध सुन ल्याएका थिए । उनीसँगै कास्कीकी पार्वती गुरुङ पनि थिइन् । सशस्त्रका सइ सञ्जीव मानन्धर पनि विमानस्थलमै कार्यरत थिए । 

प्रहरीले तीनै जनालाई पक्राउ गरेको हो । प्रहरी स्रोतका अनुसार सुन पास गराउने जिम्मा सई मानन्धरले लिएका थिए । उनी सुन लिन शौचालय पुग्दा प्रहरीलाई देखेपछि हच्किएका थिए ।

पक्राउ परेका रजालीले मानन्धरमार्फत आफूले सुन पास गर्न खोजेको बताएपछि सई पनि पक्राउ परेका हुन् ।

विमानस्थलमा कार्यरत प्रहरीलाई चेकिङ नहुने भएकाले शौचालयबाट सामान बाहिरसम्म पास गरिँदै आएको स्रोतको भनाइ छ । 

एक सशस्त्र प्रहरीका वरिष्ठ अधिकारी भने सई मानन्धर त्यस्तो नियतको प्रहरी नभएको र केबल रजालीले चिनेको बताएपछिमात्र सोधपुछका लागि प्रहरीले नियन्त्रणमा लिएको बताएका छन् । 

तर विमानस्थल सुरक्षा स्रोत भने तस्करले नेपाल प्रहरीको सट्टा सशस्त्र प्रहरीसंग साँठगाँठ बढाएको बताउँछ । 
सुरक्षाकर्मीसंग मिलेमतो नगरी कुनै पनि हालतमा त्यतिठूलो परिमाणमा सुन भित्र्याउन सकिने सम्भावना नरहेको विमानस्थल स्रोत बताउँछ । भन्सारका कर्मचारी पनि त्यस्ता मिलेमतोमा फस्ने गरेका छन् । 

पटक पटक अवैध सुन फेला पर्दासमेत यस विषयमा सुरक्षाकर्मीको गहन अनुसन्धान भएको पाइँदैन । यसो नहुनुमा सुरक्षाका उच्च अधिकारीहरु नै सामेल भएको हुन सक्ने एक पूर्व प्रहरी प्रमुख बताउँछन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ