सडक र यातायातका हाकिमहरुलाई बोलाएर मन्त्री बलायरले दिए कडा निर्देशन
तत्काल सुधारको योजना लिएर मेरो टेबुलमा आउनुस्, लाइसेन्स वितरणको काम एक मिनेट रोकिनु भएन
प्रकाशित २०७४ साउन १७ मंगलबार
524
Shares
काठमाडौं । भौतिक पूर्वाधार तथा यातायात मन्त्री वीरबहादुर बलायरले यातायात व्यवस्था विभाग, व्यवस्था कार्यालय र सवारी चालक अनमति कार्यालयका हाकिमहरुलाई बोलाएर तत्काल सुधारको योजना पेश गर्न निर्देशन दिएका छन् । मंगलबार मन्त्रालयमा विभाग र कार्यालय प्रमुखलाई बोलाएर मन्त्री बलायरले एक दुई दिनमै सुधारको योजना लिएर आफ्नो टेबुलमा आउन भनेका हुन् ।
छलफलमा उनले भने, ‘परिणाम मुखि काम देखिनु पर्छ । मलाई गफ भन्दा काम चाहिन्छ । म काम गर्नकै लागि आएको हो ।’ मन्त्री बलायरले सवारी साधनको चालक अनुमति पत्र ‘लाइसेन्स’ वितरण प्रक्रियालाई प्रभावकारी बनाउन निर्देशन दिए । उनले भनेका छन्, ‘म आफै सार्वजनिक सवारी साधनको यात्रामै गुज्रिएर आएको हुँ । लाइसेन्स लिन जाँदा म पनि कयौँ दिन लाइन लागेको थिँए । म आफै भुक्तभोगी हुँ ।’ त्यसैले नागरिकलाई दुःख दिने काम मबाट हुँदैन ।
लाइसेन्स लिन सर्वसाधारणले निकै सास्ती व्यहोर्नु परेको बताउँदै उनले यथाशीघ्र यसलाई प्रभावकारी बनाउन भनेका हुन् । ‘लाईसेन्स लिने प्रक्रिया एकदमै झन्झटिलो छ, मन्त्री बलायरले भने, ‘सर्वसाधारणहरु एकाबिहानै कार्यालयमा पुगेर लाईन लाग्नुपर्छ । त्यसपछि फेरि ट्रायल दिने देखि लाइसेन्स हात पार्नेसम्मको प्रक्रिया र समय लामो छ ।’ उनले तत्काल यसलाई सरल र सहज बनाउन समेत भनेका छन् ।
यस्तै, मन्त्री बलायरले यातायात व्यवस्था कार्यालय, सवारीचालक अनुमति कार्यालयमा जडान गरिएको सर्भर तथा सफ्टवेयर सधैं बिग्रिरहने समस्या तत्काल हटाउन भनेका छन् । उनले भने, ‘सकिन्छ हाम्रै सरकारी संयन्त्रबाट गरौँ । नभए निजीलाई दिएर भएपनि यसलाई गति दिऔँ । यस्तो लाजमर्दो अवस्था पटक्कै भएन ।’ जहिले पनि सफ्टवेयर खराब भयो भनेर जनतालाई ढाँट्ने प्रवृत्ति के हो यो ? कर्मचारीको ध्यानाकर्षण गराउने मन्त्री बलायरले भने ।
पटक–पटक सर्भरमा समस्या आउनुको कारण सोध्दै मन्त्री बलायरले भने, ‘अब यसको दीर्घकालिन समाधानबारे सोच्न विलम्ब नगर्नुस् । प्रत्येक महिना किन बिग्रन्छ ? राज्यको करोडौं लगानी परेको सर्भरमा सधैं समस्या आइरहने अनि निजी क्षेत्रमा यस्ता समस्या त सुनिदैन ।’
उनले सेवाग्राहीप्रति जिम्मेवार भएर परिणाममुखी काम गर्न समेत आग्रह गरे । चर्चाका लागि भन्दा पनि मन्त्रालयले दिने सेवाबाट सर्वसाधारण लाभान्वित हुनुपर्नेमा मन्त्री बलायरले जोड दिए । उनले स्मार्टकार्ड काठमाडौंबाट मात्र नभई देशभरबाटै वितरण गर्ने व्यवस्था मिलाउन समेत निर्देशन दिएका छन् ।
दशैँमा कुनै सडक बिग्रेको देख्न नपरोस्
मंगलबार नै मन्त्री बलायरले सडकका प्रमुखहरु र मन्त्रालयका सचिवलाई राखेर दशैँ अघि देशभरका सडक सुधार गर्न र काठमाडौं उपत्यकाभित्रका सडकमा परेका खाल्डाखुल्डी पुरिसक्न निर्देशन दिएका छन् ।
२४ घण्टा काम गरेर भएपनि खाल्डाखुल्डी पुर्न निर्देशन दिँदै उनले भने, ‘दशैँअघि सबै बाटोहरु तयार हुनु पर्छ । बाटोकै कारण यात्रुहरुलाई सास्ती भएको सुन्न नपरोस् । सहज रुपमा घर जाने आउने वातावरण निर्माण गर्नुस् ।’ काठमाडौं उपत्यकाको त हरिबिजोग नै भएको भन्दै मन्त्री बलायरले २४ घण्टा काम गरेर भएपनि खाल्डाखुल्डी पुर्न भनेका छन् ।
मन्त्री बलायरले काम गर्ने भनेर कमसल खालको गरेर सिध्याउने परम्परा आफुलाई मन नपर्ने समेत बताए । उनले भने, ‘गुणस्तरमा कुनै सम्झौता हुँदैन । म आफै अनुगमन गर्छु । आज बनाएको भोलि भत्कियो भन्ने सुन्नमा अायाे भने त्यो राम्रो हुँदैन ।’