arrow

पुष्पलाल लोकमार्ग माथिबाट पहिरो खस्दा ट्याक्सी पुरियो, चालक घाइते, लोकमार्ग अवरुद्ध

logo
प्रकाशित २०७४ साउन १८ बुधबार
Landslide_baglung.jpeg

बागलुङ । जिल्लाको गलकोट नगरपालिका–११ रिघा, काउचेमा मध्यपहाडी पुष्पलाल लोकमार्ग माथिबाट पहिरो खस्दा ट्याक्सी चालक घाइते भएका छन् । 

मंगलबार साँझ गलकोटदेखि मनेवा जाँदै गरेको ध १ ज ६५७ नं को ट्याक्सी पहिरोमा पर्दा चालक थम्मन परियार घाइते भएका हुन् । चालक परियारमात्र सवार ट्याक्सी गुडिरहेकै अवस्थामा पहिरो खसेको प्रहरीले जनाएको छ । 

घाइते अवस्थामा ट्याक्सीको सिसा फोरेर परियार भाग्न सफल भएको खरबाङ्ग प्रहरी चौकीका हवल्दार कमल भट्टराईले बताए । 

“चालकको टाउको, पिठ्युँमा चोट लागेको छ, अवस्था सामान्य नै छ” हवल्दार भट्टराईले भन्नुभयो, “पहिरोबाट उद्धार गरी उपचारको लागि अस्पताल पु-याइएको छ ।” ट्याक्सीको पछाडिको भाग पहिरोमा पुरिएको प्रहरीले जनाएको छ । 

डेढसय मिटर माथिबाट खसेको पहिरोले लोकमार्ग अवरुद्ध बनेको ११ नं वडाका अध्यक्ष डम्बर श्रीसले बताए । पहिरो साँझपख खसेको र पानी परिरहेको हुुँदा तत्काल पहिरो पन्छाउन नसिएको उनको भनाइ छ । 

सडक अवरुद्ध भएपछि बुर्तिवाङ, खरबाङलगायतका क्षेत्रदेखि सदरमुकाम र बाहिरी जिल्ला चल्ने यातायात प्रभावित भएको छ । 

प्रहरीका अनुसार पहिरो हटाएपछि दिउँसोदेखि सडक सुचारु हुनेछ । रासस 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ