arrow

मन्त्री बलायरले भने–दशैँमा देश र जनताले मुग्लिन सडक सुधार भएको महशुस गरुन्

५३ प्रतिशत मात्रै काम भएको विवरण सुनेर फिर्ता

logo
प्रकाशित २०७४ साउन १८ बुधबार
PM-_deuba.jpg

काठमाडौं । भौतिक योजना तथा पूर्वाधार मन्त्री वीरबहादुर बलायरले दशैं अघिनै मुग्लिन सडक सुधार हुनुपर्ने बताएका छन् । नारायणगढ–मुग्लिन सडकखण्डको स्थलगत अनुमगन गर्दै मन्त्री बलायरले दशैँ अघि देश र जनताले मुग्लिन सडक सुधार भएको महशुस गर्न पाउनु पर्ने बताएका हुन् ।

प्रधानमन्त्री शेरबहादुर देउवासँगै अनुगमनमा निस्किएका मन्त्री बलायरले निर्माण कम्पनीले गरेको ढिलासुस्तीलाई क्षमा गर्न नसकिने समेत बताएका छन् ।

मन्त्री बलायरले भने, ‘निर्माण कम्पनीले गरेको ढिलासुस्ती अक्षम्य छ । सरकारी तहबाट केही समस्या भएको भए समयमै जानकारी होस् । नभए बहाना बनाउन पाइँदैन । सरकारी तवरबाट कुनै अड्चन भए म आफै लाग्छु ।’

मन्त्री बलायरले नारायणगढ–मुग्लिन सडकमा खसिरहने पहिरोले जोखिम मात्रै बढाएको छैन, यात्रुहरुलाई निकै कठिनाई भएको छ, भने । सडक निर्माण समयमै सकिनु पर्दछ । यो समस्या दीर्घकालका लागि अन्त्य हुनुपर्नेमा समेत मन्त्री बलायरले जोड दिएका छन् ।

‘जहिले पनि यो बाटो अवरुद्ध हुँदै आएको छ, यो सदाका लागि अन्त्य हुनुपर्छ’, मन्त्री बलायरले भने, ‘यसप्रति मन्त्रालय सजक छ, स्थायी रुपमा समस्या समाधान गर्न मन्त्रालय सदा चिन्तित छ, यो समस्या जनताले भोग्नु नपरोस् भन्नेतिर नै ध्यान गइरहेको छ ।’

चितवनको आँपटारीदेखि २० किलोमिटर क्षेत्र सेती दोभानसम्म स्थलमार्गबाट अनुगमन गरेर प्रधानमन्त्री र मन्त्री सेती दोभान पुग्नु अघि मात्रै पहिरो खसेको थियो । त्यसको केही परसमेत पहिरो खसेको जानकारी आएपछि प्रधानमन्त्रीको अनुगमन टोली सेती दोभानबाट अघि बढेन ।

हेलिकोप्टर चढेर आँपटारी
हेलिकोप्टर चढेर आँपटारीमा पुगेको अनुगमन टोली सेतीदोभान पुग्नुअघि करिब १३ किलोमिटर मुग्लिनतर्फ दासढुंगामा आयोजित कार्यक्रममा समेत सरिक भए ।

नारायणगढ मुग्लिक सडक आयोजना तथा ठेकेदार पक्षले सडकको वर्तमान अवस्था तथा प्रगतिको बारेमा जानकारी गराएपछि प्रधानमन्त्री देउवाले सडकमा जनताले दुख पाएकोमा चिन्ता गर्दै निर्माणको काम छिटोसक्न निर्देशन दिए ।
छलफलमा भौतिक योजना मन्त्री वीरबहादुर बलायरले मुग्लिन सडक अहिले मन्त्रालयलाई सबैभन्दा ठूलो चुनौतीको रुपमा खडा भएकाले अप्ठ्यारो ठाउँलाई देखाएर नबस्न निर्माण कम्पनीलाई अनुरोध गरे ।

नारायणगढ मुग्लिन सडक आयोजनाका प्रमुख चन्द्रनारायण यादवले प्रगतिविवरण प्रस्तुत गरे । यादवले अहिलेसम्म ५३ प्रतिशत मात्रै काम सकिएको जानकारी दिए । आयोजनाका संयोजक सञ्जयकुमार श्रेष्ठले छलफलमा उठेका जिज्ञासाको उत्तर दिए । प्रधानमन्त्री कार्यालयको भौतिक निर्माण हेर्ने सचिव चन्द्र घिमिरेले लक्ष्यअनुसारको प्रगति न्यून भएको उल्लेख गर्दै रातिको समयमा पनि काम गर्न अनुरोध गरे ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ