दुई नम्बर प्रदेशको चुनावमा प्रचण्ड आफै खटिँदै, कुन नेता कुन् जिल्लामा ?
प्रकाशित २०७४ साउन १८ बुधबार
521
Shares
काठमाडौं । मुख्य सत्ता साझेदार माओवादी केन्द्रले असोज २ गते हुने २ नम्बर प्रदेशको स्थानीय तह निर्वाचनमा केन्द्रीय नेतालाई खटाउने निर्णय गरेको छ ।
वुधबार बसेको केन्द्रीय कार्यालय बैठकले २ नम्बर प्रदेशको स्थानीय तह निर्वाचनमा केन्द्रीय नेतालाई खटाउने निर्णय गरेको प्रवक्ता पम्फा भूषालले जानकारी दिइन् ।
पार्टी अध्यक्ष पुष्पकमल दाहालको निवास लाजिम्पाटमा बसेको केन्द्रीय कार्यालय बैठकले माथिल्लो तहका नेताहरुलाई नै चुनावी अभियानमा खटाउने निर्णय गरेको हो । बैठकले अध्यक्ष दाहाललाई नै चुनावमा खटाउने निर्णय गरेको छ ।
दाहाल आफ्नो निर्वाचन क्षेत्र रहेको सिराहा जिल्लामा खटिने छन् । यस्तै, नेता नारायणकाजी श्रेष्ठ सर्लाही, रामबहादुर थापा धनुषा, हरिबोल गजुरेल रौतहट, दीनानाथ शर्मालाई पर्सा, चक्रपाणि खनाल सप्तरी, डिलाराम आचार्य बारा र विश्वभक्त दुलाल महोत्तरीमा खटिनेछन् ।
बैठकले सात वटै प्रदेशमा राष्ट्रिय महाधिवेशन आयोजक समितिका सदस्यहरुलाई सहभागि गराई पार्टी प्रशिक्षण सञ्चालन गर्ने र प्रदेशस्तरीय बैठक सम्पन्न गर्ने निर्णय समेत गरेको छ । बैठकले प्रादेशिक र संघीय निर्वाचनका लागि केन्द्रीय कार्यालयका सदस्यहरुको कार्यविभाजन समेत गरेको पार्टी प्रवक्ता भूषालले बताइन् ।