arrow

सशस्त्रका सुराकी नै तस्करीमा मुछिएपछि हंगामा, टिम नै फेर्ने तयारी, नेतृत्वलाई दबाब 

logo
प्रकाशित २०७४ साउन १९ बिहिबार
sasastra-prahari.jpeg

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सुन तस्करीमा सशस्त्र प्रहरी मुछिएपछि अहिले सशस्त्र प्रहरीभित्र हंगामा मच्चिएको छ ।

गलत काममा लाग्ने व्यक्ति र निकायको सुराकीको जिम्मा पाएका सशस्त्रका सइ सञ्जीव मानन्धर सुन तस्करीमा मुछिएपछि सिंगो सशस्त्रभित्र हंगामा मच्चिएको हो ।

गत सोमबार दुई किलो सुन तस्करीमा मानन्धर मुछिएका हुन् । योसंगै सशस्त्रको सिंगो संयन्त्रमाथि नै प्रश्नचिन्ह खडा भएको छ । 
सइ मानन्धर समातिएपछि सशस्त्र प्रहरीभित्र आफूहरुको बदनाम हुने काम भएको भन्दै सशस्त्रका अधिकृतस्तरका प्रहरीहरु यस्तो कार्यलाई निरुत्साहित गर्नुपर्ने भन्दै फिल्डमा उत्रिएका छन् ।

स्रोतका अनुसार यतिबेला सशस्त्र संगठनले बेइज्जत भएको महशुस गर्दै दोषीमाथि कडाभन्दा कडा कदम चाल्न थालेको छ । 

सशस्त्रले यो घटनापछि विमानस्थलमा खटिएको पूरै टिमलाई नै हटाउन थालेको स्रोतले बताएको छ । 
 
सशस्त्र प्रहरी बल अन्तर्गतको सुरक्षा महाशाखाबाट सूचना संकलनका लागि विमानस्थलमा खटिएका सइ सञ्जीव मानन्धरको झन्डै आठ वर्षदेखि सरुवा भएको छैन ।

लामो समयदेखि एकै व्यक्तिलाई विमानस्थलमा सुराकीका रूपमा राख्नु नै संगठनको लापरवाही भएको निष्कर्षमा सशस्त्र प्रहरीको उच्च निकाय पुगेको छ । 

यो महाशाखाका इन्चार्ज डीएसपी गोपी चन्द हुन् । महाशाखा प्रमुखमा एसएसपीको दरबन्दी रहे पनि पहुँचका आधारमा चन्दले जिम्मेवारी सम्हाल्दै आएको स्रोतको दाबी छ । 

एसएसपी हुनुपर्नेमा दुई तह कमको डीएसपी राखिनु पर्ने कारण के प र्‍यो यसको जवाफ अब सशस्त्र नेतृत्वले दिनुपर्ने चर्को दबाब बढेको छ । 

एउटै व्यक्तिले लामो समयसम्म एउटै ठाउँमा बस्दा छुट्टै सेटिङ मिलाएर अपराधीलाई प्रश्रय दिइरहेको निष्कर्षमा सशस्त्रको उच्च निकाय पुगेको स्रोतले बताएको छ । 

यसअघि नेपाल प्रहरीका कर्मचारीमात्र अपराधिक गतिविधिमा संलग्न रहँदै आएको खुलासा भइरहँदा यसपटक भने सशस्त्र पनि मुछिएको छ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ