arrow

नक्कली नागरिकताले २५ वर्षदेखि नेपालमा, नेपाली परिवार र कर्मचारी रिझाए

logo
हाम्रा कुरा
प्रकाशित २०७४ साउन २० शुक्रबार
nepal-india-flag.jpeg

नवलपरासी । एक भारतीयले २५ वर्षअघि यहाँस्थित एक परिवार र कर्मचारीलाई रिझाएर नक्कली कागजात बनाई नेपाली नागरिकता लिएको भेटिएको छ । 

यो अवधिमा उनको परिवारका एक दर्जनले नागरिकता लिइसकेका छन् । त्यसकै आधारमा उनीहरूले घरजग्गासमेत खरिद–बिक्री गर्दै आएका छन् । 

साबिकको रुपौलिया गाविस–३ ९सुस्ता गाउँपालिका–१० का महुजर चौधरीले आफ्ना कान्छा छोरा भनी दिएको झूटो विवरणका आधारमा ती भारतीयले रत्तनेशप्रसाद चौधरीका नामबाट २०४९ भदौ २३ गते नागरिकता लिएका हुन् । 

यसमा जिल्ला प्रशासनका तत्कालीन कर्मचारीको समेत संलग्नता देखिन्छ । ११५०८ नम्बरको उक्त नागरिकतामा वाहकको जन्ममिति २०२३ साउन ५ गते उल्लेख छ । 

महुजरका ३ छोरा मात्र छन्, लालगोपाल, प्रेमलाल र हरिनारायण । रत्तनेशले महुजरलाई केही नगद दिएर नक्कली विवरण बनाउन लगाएका थिए । उनी भारत विहार राज्यको सोहरिया ग्राम पञ्चायत सन्तपुरका बासिन्दा हुन् । 

रत्तनेशका वास्तविक बाबुको नाम गंगाराम चौधरी हो । गंगारामका जेठा छोरा रामरतनले नै नेपालमा रत्तनेश नामबाट नागरिकता लिएका हुन् । उनले आफ्ना बहिनी, ४ सन्तान र केही दाजुभाइको समेत जिल्ला प्रशासनबाट नागरिकता बनाइसकेका छन् ।  

नागरिकता लिन रत्तनेशले स्थानीय आदर्श मावि खोखरपुरामा २०४१ सालमा कक्षा ८ पास गरेको भनी कागजात पेस गरेका थिए । जब कि उक्त विद्यालयले २०४५ सालबाट कक्षा ८ सञ्चालन गरेको हो । 

विद्यालयको लेटरप्याडमै सिफारिश गरिएको कागजात नक्कली पुष्टि भएको छ । विद्यालयले २०७४ असार १ गते जिल्ला शिक्षालाई पठाएको अभिलेखमा २०४४ बाट मात्र कक्षा ९ सुरु गरिएको खुलाएको छ । कक्षा नै सुरु नभएका बेला उनले पेस गरेको प्रधानाध्यापकको हस्ताक्षरसहितको लेटरप्याड छानबिन गर्दा किर्ते भेटिएको हो ।

नागरिकता विवरण झूटो रहेको खुलेपछि छानबिन थालेको इलाका प्रहरी बेलटारीले रत्तनेश भारतीय नागरिक रहेको र उनी ४० वर्षदेखि रुपौलियामा बसोबास गर्दै आएको जनाएको छ । 

२०७० साउन ४ गते इलाका प्रहरी बेलाटारीले पठाएको छानबिन विवरणमा रत्तनेश चौधरी भारत पश्चिम चम्पारण निवासी रहेको र उनका वंशज र परिवारका सबै सदस्यसमेत भारतमै रहेको उल्लेख छ । 

रत्तनेशले मेडिकल पसल सञ्चालन गर्दै आएका छन् । उनलाई गाउँघरमा स्थानीयले पूर्वीया डाक्टर भनेर चिन्छन् । बरुवा बजारमा उनको पक्की घर र करिब एक बिघा जग्गासमेत रहेको स्थानीय बताउँछन् । उनको नागरिकता नक्कली रहेको भन्दै त्यहीँका एक व्यक्तिले उजुरी दिएका हुन् ।

यसबारे छानबिन हुने जिल्ला प्रशासनले जनाएको छ । ‘छानबिन हुँदै छ,’ प्रजिअ उदयबहादुर रानाले भने, ‘नक्कली भेटिए नागरिकता खारेज गरी कारबाही अघि बढाउँछौं ।’ (कान्तिपुर दैनिक)
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ