- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । प्रहरीको गोली लागेर ललितपुरको कुसुन्तीमा एक जनाको मृत्यु भएको छ । लागूऔषध कारोबारमा संलग्न रहेको भनिएका प्रवीण खत्रीको प्रहरीको गोली लागेर मृत्यु भएको हो ।
उनीसँग हतियार रहेको सुराकीका आधारमा महानगरीय अपराध महाशाखाको टोली घरमा पुग्दा उनले प्रहरीमाथि गोली चलाएका बताइएको छ ।
प्रहरीलाई देख्नासाथ गोली चलाएपछि जवाफी कारबाही गर्दा उनलाई गोली लागेको महाशाखा प्रमुख एसएसपी दिनेश अमात्यले बताएका छन् । गोली लागेर घाइते भएपछि खत्रीलाई पाटन अस्पताल लगिएको थियो । चिकित्सकले उनको मृत्यु भएको घोषणा गरे ।
एसएसपी अमात्यका अनुसार उनको साथमा दुई वटा पेस्तोल भेटिएको छ । प्रहरीले चलाएको गोली लागेर प्रवीणको मृत्यु भएको हो । प्रहरीले घर घेरा हाल्न थालेपछि प्रवीणले दुबै हातमा पेस्तोल लिएर गोली गोली चलाउँदै भाग्ने प्रयास गरेका बताइएको छ ।
यसअघि प्रहरीको कारबाहीमा काठमाडौंमै गुण्डा नाइके भनेर चिनिएका दिनेश अधिकारी (चरी) र कुमार श्रेष्ठ (घैंटे)को मृत्यु भएको थियो ।