पाँच जनाको दरबन्दी रहेको इलाका प्रशासन कार्यालय सहयोगीको भरमा
प्रकाशित २०७४ साउन २५ बुधबार
438
Shares
सल्लेरी। इलाका प्रशासन कार्यालय सोताङ विगत एक महिनादेखि कार्यालय सहयोगीको भरमा चलेको छ ।
दुर्गम क्षेत्रका नागरिकलाई सेवा दिने उद्देश्यले सञ्चालनमा आएको भए पनि अहिले कामकाज कार्यालय सहयोगीको भरमा चलिरहेको छ । अन्य कर्मचारी नहुँदा कार्यालयको सेवा ठप्प भएको छ ।
इलाका प्रशासन कार्यालयले नागरिकता, नाबालक परिचयपत्रलगायत सेवा दिने भए पनि एक महिनायता उक्त सेवा बन्द रहेको सोताङ गाउँपालिका–५ का वडाध्यक्ष पृथ्वीबहादुर बस्नेतले जानकारी दिए । पाँच जनाको दरबन्दी रहेको इलाका प्रशासनमा हाल कार्यालय सहयोगी शिवप्रसाद गौतमले कार्यालय सञ्चालन गरिरहेका छन् ।
कार्यालयका अधिकृत एक महिनादेखि काजमा काठमाडौँमा गए पनि त्यसको विकल्प नखोज्दा कामकाज ठप्प भएको गाउँपालिका २ का वडाध्यक्ष ताराबहादुर राई बताउछन् । कर्मचारी नहुँदा सोताङ र महाकुलुङ गाउँपालिकाका नागरिकले सास्ती खेप्नुपरेको छ । नागरिकता बनाउनका लागि त्यहाँ पुगेका स्थानीयवासी निराश भई फर्किनु परेको सोताङ गाउँपालिका–१ का विकास खालिङले गुनासो गरे ।
प्रमुख जिल्ला अधिकारी उमेश पाण्डेले सेवा प्रभावित भएको स्वीकार्दै यसबारे मन्त्रालयमा जानकारी गराइएको बताए । रासस