arrow

केन्द्रले उठाउने भ्याट र अन्तशुल्क ४० प्रतिशतसम्म स्थानीय तहले पाउनुपर्ने भन्दै संशोधन  

स्थानीय तहलाई २० प्रतिशत भन्दा धेरै हिस्सा दिन आधा दर्जन भन्दा बढी संशोधन 

logo
सुदर्शन अर्याल,
प्रकाशित २०७४ साउन २६ बिहिबार
samsodhan1.jpg

काठमाडौं । स्थानीय तहको अधिकारको प्रश्न उठिरहेको बेला व्यवस्थापिका संसद्मा छलफलको क्रममा रहेका दुई विधेयकमा भने केन्द्रले उठाएको रकम पनि केन्द्र र स्थानीय तहबीच बराबर बाँड्नुपर्नेसम्मको प्रस्ताव समेत गरेका छन् । उक्त दुई विधेयक मध्ये अन्तरसरकारी वित्त व्यवस्थापन सम्बन्धमा व्यवस्थापन गर्न बनेको विधेयकमाथि संशोधन प्रस्ताव दर्ता गराएका सांसद्हरुले अर्थमन्त्रालयले गरेको प्रस्तावमाथि यस्ता संशोधन प्रस्ताव गरेका हुन् । 

सांसद्हरुले स्थानीय तहलाई व्यापक अधिकारको माग गर्दै कूल १ सय १२ वटा संशोधन प्रस्ताव दर्ता गराएका छन् । यस्ता संशोधनमा अधिकार क्षेत्र बढाउनको लागि सांसद्हरुले जोड दिएका छन् । स्थानीय तह, प्रदेश तथा केन्द्रको अधिकारको विषय समेटिएको अन्तरसरकारी वित्त व्यवस्थापन सम्बन्धमा व्यवस्थापन गर्न बनेको विधेयक र वित्त आयोग सम्बन्धी विधेयक अहिले व्यवस्थापिका संसद्को अर्थ समितिमा छलफलको क्रममा छ । 

सो विधेयकको दफा ६ को मूल्यअभिबृद्धि कर र अन्तः शुल्कको बाँडफाँड विषयमा मूलय अभिबृद्धि कर र आन्तरिक उत्पादनबाट उठेको अन्तशुल्क रकम बाँडफाँड गर्न नेपाल सरकारले स्थापना गरेको संघीय विभाज्य कोष खडा गरी सो कोषमा जम्मा भएको रकममध्ये ७८ प्रतिशत संघ सरकारलाई, सात प्रतिशत प्रदेशलाई र ज्ञछ प्रतिशत स्थानीय तहलाई दिने प्रस्ताव गरिएको थियो । उपदफा २ मा उल्लेख गरिएको विषयमा परेको संशोधनमा केन्द्र सरकारलाई ६० प्रतिशत, प्रदेशलाई १५ प्रतिशत र स्थानीय तहलाई २५प्रतिशत दिन प्रस्ताव गरिएको छ । 

त्यस्तै, सोही दफामा परेको अर्काे संशोधनमा भने मूल्य अभिबृद्धि कर र अन्तशुल्कको ७० प्रतिशत केन्द्र सरकारलाई १० प्रतिशत प्रदेश र स्थानीय तहलाई २० प्रतिशत दिनुपर्ने प्रस्ताव भएको छ । त्यस्तै, अर्काे एउट प्रस्तावमा त स्थानीय तह र केन्द्र सरकारलाई समान ४० ४० प्रतिशत र प्रदेश सरकारलाई २० प्रतिशत शुल्क दिनुपर्ने प्रस्ताव गरिएको छ । यसैमा परेको अर्काे संशोधनमा भने केन्द्र सरकारलाई ६८ प्रतिशत, प्रदेशलाई सात र स्थानीय तहलाई २५ प्रतिशत दिन संशोधन परेको छ । दफा ६ को लागि मात्रै कूल २१ संशोधन परेको छ । 

यो विषय मूल्य अभिवृद्धि कर र आन्तरिक उत्पादनको अन्तःशुल्कको लागि मात्रै हो । विदेशबाट आयातीत सामानमा लगाईने अन्तशुल्क भने केन्द्र सरकार आफैंले राख्नेछ । यसरी दिईने रकम प्रदेश तथा स्थानीय तहको आ आफ्नै संचित कोषमा केन्द्र सरकारले जम्मा गरिदिनेछ । 

त्यस्तै सोही ऐनको दफा सातमा रहेको प्राकृतिक बाँडफाँड सम्बन्धी दफा नै खारेज गर्न पनि माग गरिएको छ । दफा सात पुरै हटाउनको लागि तीन संशोधन परेका छन् । कूल ९ वटा संशोधन परेको दफा सातमा एक तिहाईले त त्यो दफा नैै हटाउन प्रस्ताव गरेका हुन् । 

त्यस्तै, त्यसमा उल्लेख गरिएका व्यवस्थामा पनि संशोधन परेको छ । रोयल्टी बापत ८५ प्रतिशत केन्द्र र बाँकी रहेको १५ प्रतिशत प्रदेश र स्थानीय तहलाई दिनुपर्न प्रस्तावमा धेरै सांसद्हरुले केन्द्रले ६० प्रतिशत मात्रै राखेर बाँकी प्रदेश र स्थानीय तहलाई दिन प्रस्ताव गरेका छन् । 

कसरी खर्च हुन्छ सञ्चित कोषको रकम 
ऐनमा उल्लेख भएबमोजिम उठाईएको भ्याट र आन्तरिक उत्पादनबाट उठाईएको अन्तशुल्कबापतको रकम यो ऐन पारित हुँदा तोकिएको प्रतिशत अनुसार केन्द्र, प्रदेश र स्थानीय सञ्चित कोषमा जम्मा हुन्छ । ती तीन कोषमा विभिन्न शीर्षकबाट जम्मा भएको रकम यही विधेयकको ४ मा उल्लेखित व्यवस्थाले संविधान र ऐनको अधिनमा रही वित्त आयोगले निर्धारण गरेको आधार र ढाँचा प्रत्येक प्रदेश र स्थानीय तहलाई बाँडफाँड गरिने छ । 

यसरी केन्द्रले उठाएको रकम प्रत्येक महिना प्रदेशमा जाने रकम प्रदेश सञ्चित कोषमा र स्थानीय तहले पाएको अधिकार स्थानीय सञ्चित कोषमा जम्मा हुने व्यवस्था गरिएको छ । यसरी १२ महिनाभरी जम्मा भएको प्रदेश सञ्चित कोष र स्थानीय सञ्चित कोषमा जम्मा भएको रकम आर्थिक वर्षको अन्तिम महिनामा हिसाव मिलान गरिनेछ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ