arrow

बिमस्टेक बैठक काठमाडौंमा सुरुः शान्ति र समृद्धिमा आतंकवाद ठूलो चुनौती बनेको प्रधानमन्त्री देउवाको भनाइ 

logo
प्रकाशित २०७४ साउन २७ शुक्रबार
bimstec-deuba.jpg

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले शान्ति, प्रजातन्त्र, विकास र असल छिमेकीपनमा आतंकवाद सबैभन्दा ठूलो चुनौती बनेको बताएका छन् ।  

बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास बिमस्टेकको १५औँ मन्त्रीस्तरीय बैठकको बिहीबार उद्घाटन गर्दै उनले आतंकवादका सबै रुपका प्रकटीकरणलाई नेपाल स्पष्ट रुपमा निन्दा गर्छ भने । 

प्रधानमन्त्री देउवाले समानता र सहकार्यको मर्मलाई आत्मसात् गर्दै सदस्य मुलुकको आर्थिक वृद्धि र सामाजिक समृद्धि संयुक्त रुपमा हासिल गर्ने उद्देश्यले स्थापना भएको बिमस्टेकका आदर्श र उद्देश्यप्रति नेपाल पूर्ण प्रतिबद्ध रहेको बताउँदै भने, “बिमस्टेक मुलुकका जनतासँग हामी वाचा गरौँ कि क्षेत्रीय सहयोगको ढाँचा र यसका प्रमुख विषयमा समझदारी कायम गर्दै व्यापार, लगानी, सम्पर्क विस्तार जस्ता सबै क्षेत्रमा निर्णयमा पुगौँ र ऊर्जा, प्रविधि स्रोत र जलवायु परिवर्तनसम्बन्धी बाँकी रहेका कार्यलाई पूर्णरुपमा कार्यान्वयनमा लैजाऔँ ।” 

बिमस्टेक स्थापनाको २० औँ वार्षिकोत्सवका सन्दर्भमा यो अवसरलाई परिवर्तनको विन्दुका रुपमा लिँदै बिमस्टेकको इतिहासलाई गतिशील तुल्याउन जरुरी भएको विचार व्यक्त गर्दै प्रधानमन्त्री देउवाले साझा प्रतिबद्धता र सहकार्यका निम्ति अग्रसर हुनुको विकल्प नरहेको बताए । 

उनले भने, “विकासका निम्ति दूरदृष्टियुक्त कार्ययोजना चाहिन्छ । हामी अवसर र चुनौती जटिलता र विरोधाभाषको युगमा छौँ, हाम्रा साझा उद्देश्य र लक्ष्य प्राप्तिका निम्ति सहयोग, साझेदारी र सहकार्यको मार्गमा गम्भीर रुपमा लाग्नुपर्छ ।” 

आर्थिक वृद्धि र समृद्धिको मार्गमा गरिबी भीषण चुनौतीका रुपमा रहेको बताउँदै उनले बिमस्टेक क्षेत्रका जनताको सम्मानपूर्वक बाँच्न पाउने अधिकारका लागि सबैले सामूहिक एवं निर्णायक रुपमा काम गर्नुपर्ने औँल्याए । 

जलवायु परिवर्तन र प्राकृतिक विपत्तिले हाम्रो अस्तित्वमा गम्भीर खतरा सिर्जना गरेको बताउँदै प्रधानमन्त्री देउवाले दैवीविपत्तिको जोखिममा नेपाल रहेको पुष्टि सन् २०१५ को भूकम्पले गरेको छ भन्दै जलवायु परिवर्तनका कठोर परिणामले पनि नेपाललाई गाँजेको बताए । 

उनले यी सबै किसिमका चुनौतीको सामना गर्न सदस्य मुलुकबीच सुदृढ एवं सबल सहकार्य अपरिहार्य भएको बताए । 

समारोहमा उप्रधानमन्त्री कृष्णबहादुर महराले साझा प्रयास र अद्वितीय संगठनका रुपमा रहेको बिमस्टेक क्षेत्रमा प्राकृतिक स्रोतसाधनको उपयोगले समृद्धि हासिल हुने धारणा राखे । 

व्यापार, लगानी, ऊर्जा, प्रविधिको उपयोगले सामाजिक आर्थिक रुपान्तरणका लागि बिमस्टेकको बीसवर्षे यात्रामा मिश्रित उपलब्धि हासिल भएको बताउँदै परराष्ट्रमन्त्री महराले व्यापारको वृद्धि नै विकासोन्मुख मुलुकको आर्थिक विकासको इन्जिन हो भने । 

सो अवसरमा बिमस्टेकका महासचिव सुमित नाकालान्दाले सहयोगका छ क्षेत्रबाट सुरु भएको बिमस्टेक १४ क्षेत्रमा विस्तार भएको अवगत गराउँदै बिमस्टेकको स्थायी सचिवालय स्थापना हुनु संस्थागत उपलब्धि हो भने । 

परराष्ट्र सचिव शंकरदास वैरागीले विभिन्न चरणका छलफलपछि नेपालले यो महत्वपूर्ण सम्मेलन गर्न पाउनु नेपालका लागि गौरवको विषय बनेको बताउँदै सबैलाई धन्यवाद दिए । 

व्यापार, लगानी, उद्योग, प्रविधि, मानव संसाधन, पर्यटन, कृषि, पूर्वाधार र यातायातजस्ता क्षेत्रमा सहायता परियोजना कार्यान्वयन गरी सदस्य मुलुकको द्रुत आर्थिक विकासका निम्ति २० वर्षअघि बिमस्टेक स्थापना भएको हो । रासस 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ