श्रीलंकाका परराष्ट्र राज्यमन्त्री भन्छन् 'नेपालको संविधान रिजनकै उत्कृष्ट'
प्रकाशित २०७४ साउन २८ शनिबार
543
Shares
काठमाडौं: प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाल र श्रीलंकाबीचको पुरानो सम्वन्ध अझै सुमधुर हुदै गहिरहेको बताएका छन् । शनिबार विहान श्रीलंकाका परराष्ट्र राज्यमन्त्री वसन्त सेनानायकसँग भएको शिष्टाचार भेटमा प्रधानमन्त्री देउवाले ‘बुद्धिजम’ले पनि दुई देशबीचको सम्वन्धलाई थप प्रगाण बनाउदै लगेको बताएका हुन् । ‘नेपाल र श्रीलंकाबीच धेरै पुरानो सम्वन्ध छ, बुद्धको देश नेपाल भएकाले पनि श्रीलंकनहरुसँग हाम्रो आत्मियता छ । यसलाई अझै प्रगाण बनाउने गरी कनेक्टीभिटी बढाउनु पर्छ’ प्रधानमन्त्रीले भने, ‘नेपाल श्रीलंकासँगको सम्वन्ध अझै बढाउन चाहन्छ ।’
प्रधानमन्त्रीले नेपालमा आएको भुकम्पको बेलामा श्रीलंकाले गरेको सहयोगको प्रशंसा पनि गरे । भेटमा नेपाल र श्रीलंकाबीचको व्यापार बृद्धिका विषयमा पनि छलफल भएको थियो । भेटमा श्रीलंकाका परराष्ट्र राज्यमन्त्री वसन्तले दुई देशबीच व्यापार र पर्यटनमा थप बृद्धि गर्नुपर्ने बताएका थिए । ‘ठूलो संख्यामा श्रीलंकनहरु नेपाल घुम्न आउँछन्’ उनले भने, ‘विषेशगरी लुम्विनीको लागि आउने संख्या निकै बढि छ, कनेक्टीभि बढाउने विषयमा दुई देशबीच सहकार्य आवश्यक छ ।’
बसन्तले नेपालको संविधान यो क्षेत्र (रिजन)कै उत्कृष्ट संविधान भएको बताउदै महिला र सिमान्तकृत समुदायको अधिकारमा निकै प्रगतिशील भएको पनि बताए । ‘महिला र सिमान्तकृत समुदायको अधिकारका विषयमा नेपालको संविधान यो क्षेत्रकै ‘मदर’ संविधान हो’ परराष्ट्र राज्यमन्त्री वसन्तले भने ।
परराष्ट्र राज्य मन्त्रीले प्रधानमन्त्री देउवालाई श्रीलंका भ्रमणको लागि पनि आग्रह गरे । ‘हाम्रो राष्ट्रपतिले तपाईलाई छिट्टै श्रीलंका भ्रमणको औपचारिक निम्तो पठाउदै हुनुहुन्छ’ बसन्तले भने, ‘तपाई आउनुहुनेछ भन्ने हामीले आशा गरेका छौ ।’उनले नेपालको राजनीतिक परिवर्तनबाट श्रीलंकाले पनि पाठ सिक्न सक्ने धारणा पनि राखेका थिए ।