बाढीका कारण झापा र दाङमा तीनको मुत्यु, दर्जनौ घर बगायो
प्रकाशित २०७४ साउन २८ शनिबार
617
Shares
काठमाडौं। झापाको कनकाई नदी र झिलझिले खोलाले बगाउँदा दुई जनाको मृत्यु भएको छ भने पाँचजना बेपत्ता भएका छन् । झापा गाउँपालिका– २ की कमला घोर्साइनेलाई कनकाई नदीमा आएको बाढीले बगाउँदा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । नदीमा आएको बाढीले आमाछोरीलाई दुबैलाई बगाउँदा छोरी कमलाको मृत्यु भएको र आमा बेपत्ता भएको प्रहरीले जनाएको छ ।
झापा गाउँपालिका– २ कै कलिप्रसाद राजवंशीसहित उनको चार जनाको परिवारलाई कनकाई नदीले बगाएको छ । नदीले बगाएर बेपत्ता भएका उनीहरुको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ । यता, शिवसताक्षी– १ धरमपुरका २८ वर्षीय विजय पाण्डेलाई झिलझिले खोलामा आएको बाढीले बगाउँदा मृत्यु भएको प्रहरीले जनाएको छ । सशक्त प्रहरी, नेपाल प्रहरी, नेपाली सेना र सर्वसाधारणले बेपत्ताको खोजी कार्य गरिरहेको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी प्रवक्ता हरिप्रसाद शर्माले जानकारी दिए ।
उता गएरातिदेखि परेको अविरल वर्षासँगै आएको बाढीले घर बगाउँदा दाङमा एकजना महिलाको मृत्यु भएको छ । मृत्युहुनेमा तुलसीपुर–१३ का भगवती सुनार रहेको छ । स्थानीय तुईखोलामा आएको बाढीले घर बगाउँदा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । त्यसैगरी राप्ती नदीमा आएको बाढीले दर्जनाँै घर डुबानमा परेको प्रजिअ गजेन्द्रबहादुर श्रेष्ठले जानकारी दिए।
त्यस्तै लमही नगरपालिका–५ मा दुईवटा घर पूर्णरुपले क्षति भएका छन् भने छवटा घर डुबानमा परेका छन् । यसैगरी बबई नदीमा आएको बाढीले दुईवटा घर बगाएको छ भने ३० घर डुबानमा परेको प्रहरीले जनाएको छ । गएराति १ः३० बजेदेखि तुलसीपुर–नेपालगञ्ज सडकखण्डमा यातायात ठप्प भएको छ । बबई नदीमा पानीको सतह बढ्न सक्ने भएकाले सतर्कता अपनाउन जिल्ला प्रशासन कार्यालय दाङले आग्रह गरेको छ ।
अविरल वर्षाका कारण दाङ तुलसीपुर उपमहानगरपालिका वडा नं १३ को बखरिया, गोल्टाकुरीको कलम खोला, मोतीपुर, बाँकी गाउँ जलमग्न भएको छ । त्यसैगरी घोराही तुलसीपुर सडकखण्डको मोतीपुरमा पनि बाढीले सडक बगाएको इप्रका तुलसीपुरले जनाएको छ । रासस