बाढी र पहिरोमा परी देशभर ३० जनाको मृत्यु, १२ अझै बेपत्ता
प्रकाशित २०७४ साउन २८ शनिबार
228
Shares
काठमाडौँ । लगातारको वर्षाले बाढी र पहिरोमा परी अहिलेसम्म देशभर ३० जनाको मृत्यु भएको छ । १२ जना हराइरहेका गृह मन्त्रालयले जनाएको छ । सयाैँ घर डुबानमा परेका छन् ।
मन्त्रालयले लिएका जानकारी अनुसार सुनसरीमा ७, झापामा ४, मोरंङमा ३, बारामा १, सर्लाहीमा १, बाँकेमा ३, पाँचथरमा ३, दाङमा १, सिन्धुलीमा ४, पाल्पामा १ र बर्दियामा १ गरी देशैभरी करिब ३० जनाको मृत्यु भएको छ ।
बाढी प्रभावितहरुका लागि विमान स्थलमा खाद्ध तथा उद्धार सामाग्रीहरु तयारी अवस्थामा राखेपनि मौसम प्रतिकुल भएका कारण सम्बन्धित ठाउँमा लैजान नसकिएको गृहमन्त्रालयले जनाएको छ ।
गृहमन्त्री जनार्दन शर्माले बाढी पहिरोमा परी मृत्यु हुनेहरुप्रति सम्वेदना प्रकट गर्दै उद्धार कार्य तिव्र पार्न जिल्ला प्रशासन कार्यालयहरुलाई निर्देशन दिएका छन् । गृहमन्त्री शर्माले मौसमले साथ दिने बित्तिकै त्यस तर्फ प्रस्थान गर्ने जानकारी दिएका छन् ।
गृहमन्त्री शर्माले नेपाल प्रहरी तथा सशस्त्र प्रहरीका उद्धार कार्यका लागि जवाहरुलाई परिचालन गर्न केही समय अघिनै निर्देशन दिइसकेका थिए । मध्य पहाडी क्षेत्रमा पनि पहिरोका कारण जनजीवन प्रभावित भएको छ ।