पाँचथर । पाँचथर जिल्लाको फालेलुङ गाउँपालिका वडा नं ३ मेमेङमा तीन दिन अघि बाढी पहिरोबाट बेपत्ता तीन जना मध्ये एक जना बालिकाको शब आइतबार दिउँसो फेला परेको छ । अबिरल बर्षातका कारण निवाखोलामा आएको बाढी पहिरोका कारण पुरिएर शुक्रबार एक परिवारका तीन जना बेपत्ता भएका थिए ।
तीन दिनदेखि सेना,प्रहरी र स्थानीय बासिन्दाले बेपत्ता परिवारको खोजि गर्दा आइतबार दिउँसो ढुङगाको चेपमा अड्किए र नचिनिने अवस्थामा एक बालिकाको शब फेला परेको भैरवी दल गणका गणपति शिवराम पन्तले जानकारी दिनुभयो । शवको पहिचान नभएकोले छोरा,या नातिनी कसको शव भेटिएको पहिचान हुन नसकिएको उनले बताए । सो पहिरोमा ५३ बर्षीय बिष्णुभक्त राई र उनकी १३ बर्षीय छोरी प्रिया र १२ बर्षीय नातीनी गंगा राई बेपत्ता भएका थिए ।
बेपत्ता दुई जनाको खोजी कार्य भने जारी रहेको प्रहरीले जनाएको छ । यसैबीच पाँचथर जिल्लामा अबिरल बर्षातका कारण आएको बाढी पहिरोल बिस्थापित परिवारलाई जिल्ला दैबिप्रकोप समिति पाँचथरले मृतक परिवार एक÷एक लाख रुपैयाँ र बिस्थापितहरुलाई प्रति परिवार १२ हजार रुपैयाका दरले ५ लाख रुपैया घटनास्थलमा पठाइएको प्रमुख जिल्ला अधिकारी विनोद कुमार खड्काले बताए ।
यस्तै विस्थापितहलाई त्रिपाल,चामाल, चिउरा, चाउचाउ तेल लगायतका सामाग्री बितरण गरिएको प्रमुख जिल्ला अधिकारी बिनोदकुमार खड्काले बताएका छन् । पीडित परिवारलाई सहयोग गर्न जिल्ला सदरमुकाम फिदिममा आइतबार बिहान एक लाख ३२ हजार राहत सामाग्री संकलन भएको थियो । सो बाढी पहिरोबाट ५० घर परिवार बिस्थापित भएका छन् । यसैबीच पहिरोका कारण अबरुद्ध मेची राजमार्ग पहिरो पन्छाएर सडक खुलाइएको छ ।