१५ घण्टादेखि सुर्खेत–नेपालगञ्ज सडक अवरुद्ध, विद्युत सेवा समेत अवरुद्ध
प्रकाशित २०७४ साउन २९ आइतबार
456
Shares
सुर्खेत। सुर्खेत र दैलेखको विद्युत सेवा गए रातिदेखि अवरुद्ध भएको छ । सुर्खेत–कोहलपुर प्रशारण लाइनको बीचमा वर्षाले तार र खम्बामा क्षति पु¥याउदा विद्युत् सेवा अवरुद्ध भएको हो । नेपाल विद्युत प्राधिकरण, सुर्खेत वितरण केन्द्रका सुपरभाइजर विजेश रञ्जितका अनुसार विद्युत् सेवा कुन ठाउँमा अवरुद्ध भएको भन्ने पत्ता लाग्न सकेको छैन् । चेपाङस्थित बबई नदीमा आएको बाढीले बिजुलीको खम्बा बगाएको हुनसक्ने अनुमान गरिएको छ ।
अवरुद्ध विद्युत सेवा सुचारु गर्न गएको टोली राजमार्गको ठाउँ–ठाउँमा गएको पहिरोले रोकिएको सुपरभाइजर रञ्जितले बताए । भारी वर्षा र पहिरोका कारण मर्मत टोली अलपत्र परेको उनको भनाइ छ ।
पन्ध्र घण्टादेखि सुर्खेत–नेपालगञ्ज सडक अवरुद्ध
यसैगरी शनिबार रातिबाट परेको वर्षाले सुर्खेत–नेपालगन्ज सवारी आवागमन ठप्प भएको छ । सुर्खेत जोड्ने एकमात्र सडक रत्न राजमार्गको आधा दर्जन बढी ठाउँमा गएको पहिरोले सवारी आवागन झन्डै १५ घण्टादेखि अवरुद्ध भएको हो ।
राजमार्गको सत्तरी, पाँडुले, कालिदमार, सानो हर्रे, निकुञ्ज क्षेत्रभित्र ठाउँ–ठाउँमा पहिरो झरेर सडकअवरुद्ध भएको डिभिजन सडक कार्यालय सुर्खेतका प्रमुख बेलबहादुर भुजेलले जानकारी दिए। उनले आइतबार दिनभर पहिरो हटाउने कार्य जारी रहेपनि पुनः पहिरो खसेका कारण सडक सञ्चालन गर्न नसकेको बताए।
यता, छिन्चु–हर्रे सडक खण्डको कालिदमारमा सडक भासिएको छ । सडक अवरुद्ध भएपछि सुर्खेतबाट नेपालगञ्ज र नेपालगञ्जबाट सुर्खेत, कर्णाली, जाजरकोटलगायत जिल्ला यात्रुको विचल्ली भएको छ । आइतबार साँझ वा सोमबारसम्म पहिरो हटाएर सडक सञ्चालन गर्ने गरी निरन्तर काम भइ रहेको प्रमुख भुजेलले बताए। रासस