डुवानका कारण मुलुकको तराई भेगमा पिउने पानीको हाहाकार
प्रकाशित २०७४ साउन ३० सोमबार
679
Shares
काठमाडौं । ४ दिनदेखिको अविरल वर्षाका कारण डुवानमा परेको मुलुकको तराई भेगमा अहिले पानीको हाहाकार भएको छ । विभिन्न जिल्लाका स्थानीय पत्रकारहरुसँगको कुराकानीमा उक्त जिल्लाहरुमा खानेपानीको हाहाकार भएको बताएका छन् ।
अहिले पूर्वी तराई तथा विशेषगरी २ नं प्रदेशमा झण्डै २ फिट भन्दा माथिसम्म पानीले भरिएको छ । यसरी जलमग्न भएकोले ट्यूववेलबाट पानी पनि तान्न नसक्ने स्थिती भएकोले २ नं प्रदेशमा पानीको उच्च अभाव देखिएको हो । तराईका अधिकांश स्थानीयहरु ट्यूववेलको पानीमा आश्रित हुने गरेका छन् ।
रौतहटका स्थानीय पत्रकार सञ्जय कार्कीका अनुसार अहिले रौतहटका ८० प्रतिशत भूभागमा ५ फिट भन्दा माथिसम्म पानी आईपुगेको छ । बाढीले रौतहट र सर्लाही जोड्ने धन्सारपुरको दक्षिण तर्फ कटान गर्दा राजमार्ग अवरुद्ध बन्न पुगेको छ । सदरमुकाम गौर जाने बृन्दावन गाउँपालिकाको सर्वथा भन्ने स्थानमा ३० मिटर कटान हुँदा गौरजाने बाटो पनि बन्द भएको छ । अहिले रौतहटका सबै गाउँपालिका तथा नगरपालिकाहरुमा विद्युत तथा टेलिफोन काटिएको छ । त्यहाँ अहिले पानीको उच्च समस्या देखिएको छ ।
जनकपुरको भानु चोक, शिव चोक, जनक चोक, मिल्स एरिया, पुल चोक, वकिल टोल लगायतको क्षेत्रमा एक फिटभन्दा बढी पानी सडकमा जमेको कारण त्यहाँ पनि पिउने पानीको उच्च समस्या रहेको छ । नगर क्षेत्र जलमग्न भएपछि नेपाल टेलिकम जनकपुर शाखाको ग्रामीण क्षेत्रमा राखिएको दश वटा बेस स्टेशन ट्रान्समिटरमा खराबी आएपछि ग्रामीण क्षेत्रमा सञ्चार समेत अवरुद्ध भएको छ भने बिहानैदेखि जनकपुर उपमहानगरपालिकासहित ग्रामीण क्षेत्रमा विद्युत आपुर्ती समेत ठप्प भएको छ ।
सिराहा जिल्लाको लहान, मिर्चिया मिर्चिया, गोलबजार र सिराहा नगरपालिका अहिले डुबानमा परेको छ । त्यहाँ पनि अहिले पिउने पानीको समस्या रहेको छ । जिल्लाबाट चल्ने कुनैपनि छोटो तथा लामै दूरीका सवारीहरु अहिले चल्न सकेका छैनन् । विद्युत सेवा पूर्ण अवरुद्ध छ भने विशेषगरी सिराहाको विभिन्न ठाउँमा रहेका दलितबस्तीहरु अहिले डुवानको उच्च चपेटामा परिरहेका छन् ।
महोत्तरीमा बाढी शहर पसेपछि जलमग्न बनेको महोत्तरीको जलेश्वरमा रहेका २ दर्जन सरकारी कार्यालय भित्रै ५ फिट सम्म पानी आईपुगेको छ । जिल्लाका कूल २ हजार घर डुवानमा परिसकेका छन् । बाढीमा परी जलेश्वर नगरपालिका वडा नं २ का विक्की कुमार ठाकुरको ज्यान गईसकेको छ । त्यहाँ पनि पानीको उच्च समस्या रहेको छ ।