बनेपा घटना : 'एकै परिवारका चार जनाको हत्या भएको देखिँदैन'
प्रकाशित २०७४ साउन ३० सोमबार
696
Shares
बनेपा। काभ्रेपलाञ्चोकको बनेपामा मृत अवस्थामा फेला परेका एकै परिवारका चार जनाको हत्या भएको नदेखिएको प्रारम्भिक प्रहरी अनुसन्धानले देखाएको छ ।
काभ्रेपलाञ्चोकका प्रहरी उपरीक्षक सहदेव थापाले शव परीक्षणबाट आत्महत्या भएको देखिएको तर विस्तृत विवरणका लागि भिसेरा रिर्पोट पर्खनुपर्ने बताए ।
शवको परीक्षण लगत्तै ललितपुरस्थित विधिविज्ञान प्रयोगशाला, खुमलटारमा भिसेरा परीक्षण गर्न लागिएको र अबको केही दिनमै त्यसको प्रतिवेदन आउने प्रहरी उपरीक्षक थापाले जानकारी दिए ।
उनका अनुसार भिसेरा परीक्षणबाट सेल्फस नामक विषादी हो वा होइन ? कुन समयमा खाएका हुन् ? हरेकले कुन समयमा खाए ? एकै पटक खाएको हो वा हैन ? भन्ने विस्तृत विवरण प्राप्त हुनेछ ।
“अहिलेसम्मको प्रहरी अनुसन्धानले हत्या भएको देखिँदैन” – उनले भने। बनेपा–८ स्थित बसपार्कमा रहेको गौतम भोजनालयमा ६५ वर्षीय हरिभक्त दाहाल, ६० वर्षीया हरिमाया दाहाल, ३२ वर्षीय राजाराम दाहाल र २५ वर्षीया रञ्जना दाहाल साउन ६ गते मृत अवस्थामा फेला परेका थिए । तर स्थानीय बासिन्दाले घटना रहस्मय भएको भन्दै दोषीमाथि कारबाहीको माग गरेका छन् । सम्पत्ति र घरायसी विवादका कारण उनीहरुले सामूहिक आत्महत्या गरेको आशंका गरिएको छ ।
मृत फेला परेका बुबाआमा, छोरा र छोरी हुन् । शव रहेको कोठाको भित्रबाट ताल्चा लगाइएको र सेल्फस नामक विषादीको शिशी प्रहरीले घटनास्थलबाट फेला पारेको थियो । घटनाको थप अनुसन्धान अपराध अनुसन्धान ब्यूरोले गर्दैछ । रासस