माओवादी केन्द्रका सबै सांसदको एक महिनाको तलब बाढीपीडितलाई
प्रकाशित २०७४ साउन ३० सोमबार
262
Shares
काठमाडौं । सत्तारुढ माओवादी केन्द्रले सबै सांसदहरुको एक महिनाको तलब बाढी पीडितलाई राहत दिने निर्णय गरेको छ ।
सोमबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको संसदीय बोर्डको बैठकले बाढी पीडितहरुको राहतका लागि पार्टीका सबै सांसदहरुले एक महिनाको तलब दिने निर्णय गरेको माओवादी प्रमुख सचेतक रेखा शर्माले बताइन् । संसदमा अहिले माओवादीका ८२ जना सांसद छन् ।
बाढी पहिरो पीडित जिल्लाका सांसदहरुलाई पीडितहरुको उद्धार, राहत र पुनःस्थापनाको काममा सक्रियतापूर्वक लाग्न समेत बैठकले निर्देशन दिएको छ ।
संसदीय बोर्ड बैठकले सरकारलाई बाढी पीडितहरुको राहत, उद्धार तथा पुनःस्थापनाको काममा प्रभावकारी भूमिका निर्वाह गर्न आग्रह समेत गरेको छ ।
यस्तै, बैठकले संसदमा विचाराधिन संविधान संशोधन विधेयक संसदबाट पास गराउन पहल गर्ने निर्णय समेत गरेको छ । सत्तारुढ दल र राष्ट्रिय जनता पार्टीबीच संविधान संशोधन विधयेयक निर्णयार्थ पेश गर्ने सहमति भइसकेको छ ।
सरकारले सम्भवतः मंगलबारै संविधान संशोधन विधेयक निर्णयार्थ पेश गर्ने बताइँदैछ । मतदानमा गएको विधेयकबाट जुनसुकै नतिजा आएपनि स्वीकार्ने राजपाका नेताहरुले बताएका छन् ।