दाङ । तुलसीपुर उपमहानगरपालिकाले बाढी प्रभावितहरुलाई सोमबारदेखि राहत वितरणको काम सुरु गरेको छ । तुलसीपुर उपमहानगरपालिका १३ का बाढीपीडितहरुलाई प्रभावित क्षेत्रमै पुगेर राहत प्रदान गरेको हो ।
राहत प्रदानका क्रममा बाढीपिडितहरुले तत्काल गासवासको व्यवस्थापन गर्न माग गरेका छन् । उनीहरुले आफन्त र छिमेकिको घरमा सरण लिनुपरेको भन्दै राज्यले तत्काल पुनस्र्थापनामा ध्यान दिन समेत आग्रह गरेका छन् ।
तुलसीपुर उपमहानगरपालिका को अगुवाईमा प्रमुख जिल्ला अधिकारी सहित विभिन्न संघ संस्थाको सहयोगमा संकलन भएको राहत ३ दिनपछि पीडितहरुले पाएका छन् । उनीहरुले राहत स्वरुप चामल, दाल, चिउरा, नुन, तेल र त्रिपाल लगायतका सामाग्रीहरु पाएका हुन् । राहत प्रदान गर्न सुरु भएको छ ।
अब हामी उनीहरुको व्यवस्थापनमा लाग्नेछौ दाङका प्रमुख जिल्ला अधिकारी गजेन्द्र बहादुर श्रेष्ठले बताए । उनका अनुसार दाङमा ९० घर पूर्ण रुपमा ध्वस्त भएका छन् । त्यस्तै, तुलसीपुर उपमहानगरपालिकाका मेयर घनश्याम पाण्डेले उद्धार पछि आफूहरु राहतमा लागेको भन्दै मौसमले साथ दिए तत्काल पुनर्स्थापनामा लाग्ने बताए ।
उनका अनुसार नगरपालिकाले स्थापना गरेको विपद् व्यवस्थापन कोष अन्तर्गत काम सुरु गरेको भन्दै उद्धार को काम सकिएकाले अब पीडितहरुको व्यवस्थापन अनि पुनस्र्थापनामा लाग्ने जानकारी दिए । त्यसैगरी राहत प्रदान गर्न पुगेका सांसद एवं नेपाली काँग्रेसका नेता डिल्ली बहादुर चौधरीले बाढी प्रभावित क्षेत्रहरुको पहिचान गरेर अगाडि बढ्ने बताए ।