arrow

बाढीपहिरोमा परी हालसम्म ९१ जनाको मृत्यु, ३८ बेपत्ता, २५ घाइते

दुई हजार ८४७ घर पूर्ण क्षति

logo
प्रकाशित २०७४ साउन ३० सोमबार
flood-tarai.JPG

काठमाडौँ । गृह मन्त्रालयले अविरल वर्षाका कारण आएको बाढीपहिरो र डुबानबाट मुलुकका विभिन्न जिल्लामा हालसम्म ९१ जनाको मृत्यु भएको जनाएको छ । 

मन्त्रालयद्वारा जारी विज्ञप्तिमा बाढीपहिरो र डुबानमा परेर २५ घाइते, ३८ जना बेपत्ता र दुई हजार ८४७ घर पूर्ण क्षति भएको उल्लेख गरिएको छ । 

देशका विभिन्न जिल्लामा भएका बाढीपहिरो र डुबानका घटनाबाट ठूलो संख्यामा जनधनको क्षति हुनुका साथै जनजीवनसमेत प्रभावित हुन पुगेको मन्त्रालयले जनाएको छ । 

मन्त्रालयका अनुसार तीन हजार ७२७ पूर्वाधार संरचनाको क्षति भएको छ । 

बाढीपहिरो र डुबानबाट पीडितहरुको खोज, उद्धार गरी राहत वितरण गर्ने कार्यलाई सरकारले तीव्रता दिएको जनाउँदै त्यस कार्यका लागि सुरक्षाकर्मीसमेत २६ हजार ७०० भन्दा बढी जनशक्ति प्रत्यक्ष रुपमा प्रभावित क्षेत्रमा खटिएको छ । 

नेपाली सेनाका सात र निजी क्षेत्रका छ वटा हेलिकप्टरसहित मोटरबोट, रबरबोट लगायतका साधनहरु खोज, उद्धार र राहतमा प्रयोग भएको पनि गृह मन्त्रालयले जनाइएको छ । 

मन्त्रालयले झापामा ७०० परिवारका लागि ८५१ त्रिपाल, ४७५ थान कम्बल, २६१ सेट भाँडाकुँडा र केही ड्राइफुड वितरण भएको छ भने सुनसरीमा ६४ क्वीन्टल चामल, १२० क्वीन्टल चिउरा, ६७ क्वीन्टल भूजा, ९१० किलो नुन, २१ हजार ४५० वटा चाउचाउ, ५० लि खानेतेल, ५० कार्टुन बिस्कुट, ६४० पोका दालमोठ र तीन क्वीन्टल दाल वितरण गरेको पनि मन्त्रालयले जनाएको छ । 

त्यसैगरी बाढीप्रभावित सप्तरी, सर्लाही, धनुषा, महोत्तरी, बारा, रौतहट, दाङ, बाँके, बर्दिया र कैलाली जिल्लामा पनि राहत सामग्री वितरण गरिएको गृहमन्त्रालयका प्रवक्ता रामकृष्ण सुवेदीले जानकारी दिए । रासस 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ