काठमाडौं । नेपाल औषधि व्यवसायी संघले तराईका बाढी पीडित क्षेत्रमा चिकित्सकसहितको स्वास्थ्य सेवा पुर्याएको छ ।
बाढी पहिरोबाट भएको क्षतिलगत्तै औषधि व्यवसायी संघले अञ्चल शाखा र जिल्ला शाखा परिचालन गरेर पीडितको स्वास्थ्य उपचारमा खटिएको अध्यक्ष मृगेन्द्रमेहर श्रेष्ठले जनाएका छन् । ‘मेची, कोसी, सगरमाथा, जनकपुर, नारायणीसहितका अञ्चल शाखाले बाढी पीडितका लागि औषधि र चिकित्सकसहितको टोली परिचालन गरिसकेको छ,’ विज्ञप्तीमा भनिएको छ ।
प्रभावित क्षेत्रमा औषधिको कुनै पनि अभाव सिर्जना हुन नदिन नेपाल औषधि व्यवसायी संघ केन्द्रीय कार्यालयले केन्द्रीय अध्यक्षकै नेतृत्वमा निरन्तर अनुगमनको काम गरिरहेको छ । ती अञ्चलभित्रका जिल्ला शाखाहरुबाट अहिलेसम्म प्राप्त तथ्यांकअनुसार करिव ३० लाख रुपैयाँको औषधि निःशुल्क प्रदान गरिसकेको छ ।
केन्द्रीय कार्यालयले विपत्तिको यस घडीमा प्रभावित क्षेत्रमा आवश्यक वस्तु र सेवालाई परिचालन गर्न निर्देशन दिएको छ । पीडितका लागि सरकारी संयन्त्रसँग सहकार्य गरेर राहतका कामलाई अगाडि बढाउन सबै शाखाहरुमा पत्राचार गरिसकिएको अध्यक्ष श्रेष्ठले जानकारी दिए ।