arrow

मन्त्रिपरिषद् बैठक सकिएपछि मंगलबार नै डा केसीको अनसन स्थगित हुने सम्भावना 

logo
प्रकाशित २०७४ साउन ३१ मंगलबार
govinda-kc-kabadi-bed-ma-sutdai.jpeg.jpeg

काठमाडौं । २३ दिनदेखि अनसनरत त्रिवि शिक्षण अस्पतालका प्राध्यापक डाक्टर गोविन्द केसीले मंगलबार अनसन स्थगित गर्ने सम्भावना देखिएको छ । उनी निकट स्रोतका अनुसार सरकारले आफ्नो तर्फबाट पूरा गर्न सक्ने माग पूरा गरेको खण्डमा अहिलेको बर्तमान अवस्थालाई ध्यानमा राखी अनसन स्थगित गर्ने तयारी भईरहेको छ । 

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको कारण केसीको माग अनुसार चिकित्सा शिक्षा सम्बन्धी विधेयक व्यवस्थापिका संसद्बाट पारित नभएपछि केसीको माग पूरा गर्न सरकार समेत असफल भएको थियो । तर, अहिलेको राष्ट्रिय विषय बनेको बाढी पहिरोका कारण त्यो माग तत्काल पूरा नभएपनि केसीले अनसन स्थगित गर्ने सम्भावना देखिएको स्रोतले जनाएको छ । 

स्रोतका अनुसार केसीसँग यस पटक केही पनि सहमती हुँदैन । अहिले मन्त्रिपरिषद्बैठक सकिएपछि सरकारले उनलाई आफ्नोबाट पूरा गराउन सक्ने मागको विषयमा एउटा प्रतिवद्धता पत्र दिन्छ । सोही पत्रको आधारमा केसीले अनसन तोड्ने सम्भावना रहेको छ । 

आइओएममा तत्काल डिनको सिफारिश अनुसार सहायक डिन र क्याम्पस प्रमुख नियुक्त गर्न, आइओएमलाई विगतका सम्झौताअनुसार थप स्वायत्तता दिंदै विद्यार्थी भर्ना, शुल्क र सम्बन्धनसम्बन्धी अधिकार त्रिवि कार्यकारी परिषदबाट आइओएममा फिर्ता गर्न, सरकारी निर्देशन र अदालतको आदेश अटेरी गर्ने मेडिकल कलेजको सम्बन्धन तत्काल खारेज गर्न, चिकित्सा शिक्षा आयोग नबनुन्जेलसम्म मेडिकल शिक्षाका सबै तहको शुल्क विश्वविद्यालयले नभई सरकारले तोक्ने व्यवस्था गर्न, एमडी, एमएस र एमडीएस तहको शुल्क यही शैक्षिक सत्रदेखि लागू हुने गरी काठमाडौं विश्वविद्यालयमा जस्तै सबै निजी कलेजहरुका लागि २२ लाख कायम गर्न र आइओएममा पदाधिकारी नियुक्त नगरेर अस्तव्यव्यस्त बनाउने, आइओएमका अधिकार खोसेर लैजाने तथा नाजायज रुपमा धेरै शुल्क कायम गर्ने त्रिवि पदाधिकारीलाई तत्काल बर्खास्त गर्न माग गर्दै अहिले गोविन्द केसी ११ औं अनसनमा छन् । 

त्यसमध्ये सरकाले सहायक डिन नियुक्त गर्ने, त्रिविका पदाधिकारीहरुको अधिकारको सम्बन्धमा पनि अधिकार फिर्ता गरिदिने र माथेमा आयोगको प्रतिवेदन अनुसार जसरी पनि ऐन तयार पार्ने प्रतिवद्धता पत्र गोविन्द केसीलाई दिने तयारी गरिरहेको छ ।

सो, पत्र प्राप्त भईसकेपछि आफ्नो अनसन स्थगित हो या त अन्त्य नै भएको हो त्योभने उनको विज्ञप्तीमा लेखेको भाषाले नै निर्देशित गर्ने छ । यद्यपि उनी पछि माग पूरा नभएको खण्डमा केही समयपछि अनसन बस्न पनि सक्छन् । तर, अहिलेको लागि भने मन्त्रिपरिषद्को बैठक सकिनेवित्तिकै उनको अनसन तोडिने सम्भावना देखिन्छ । 


 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ