arrow

नेपाल आउने मालबाहक कन्टेनर र ट्रक भारतमा रोकिए, विलम्ब शुल्क तिर्दा हैरान

५०० कन्टेनर र ट्रक अलपत्र, कुनै पहल हुन सकेन 

logo
प्रकाशित २०७४ भदौ २ शुक्रबार
border-nepal-india-jogbani.jpg

पथरी । नेपालको सीमावर्ती भारतको जोगबनी क्षेत्रका बाढीपीडितले राहत र पुनःस्थापनाको माग गर्दै हडताल गरेका कारण नेपाल आउने मालबाहक कन्टेनर र ट्रक रोकिएका छन् । 

भारतीय बजार जोगबनीका स्थानीयले हडताल गरेका कारण नेपालतर्फ आउने मालबाहक सवारीसाधन रोकिएका हुन् । हडतालका कारण जोगबनी बजार पूर्णतः बन्द छ । 

सडकमा प्रदर्शनकारीले टायर बालेर नाराबाजी गरिरहेका छन् । उनीहरूले सडकमा साइकलबाहेक कुनै सवारीसाधन चल्न दिएका छैनन् । 

स्थानीय नरेश यादवका अनुसार बाढीबाट जोगबनी क्षेत्रमा मात्र १४ जनाको मृत्यु भएको छ र १० हजार घरपरिवार विस्थापित भएका छन् । उनका अनुसार सरकारले कुनै राहत सामग्री उपलब्ध नगराएका कारण स्थानीयवासी स्वतःस्फूर्त रूपमा आन्दोलनमा उत्रिएका हुन् । 

विराटनगर भन्सार एजेन्ट संघका अध्यक्ष बिजेन्द्र परासरले नाकातर्फ आइरहेका मालबाहक गाडी सीमापारि ५०० कोे संख्यामा थन्किएर बसेको जानकारी दिए । 

यसबाट नेपालका आयातकर्ताले (विलम्ब शुल्क) तिर्नुपर्ने भएको छ । एक कन्टेनरले एक दिनको भारु पाँचहजार देखि छ हजार र मालबाहक ट्रकले भारु दुई हजारदेखि २५ सयसम्म विलम्ब शुल्क तिर्नुपर्ने अध्यक्ष परासरको भनाइ छ । 

साउन २८ गते शनिबारदेखि मालबाहक गाडी सीमापारि रोकिएका हुन् । बाढी र त्यसपछिको हडतालका कारण मालसामान भित्रन नपाएपछि विराटनगर भन्सारबाट हुने राजस्व संकलनमा असर पुगेको छ । 

दैनिक रु साढे सात करोडको हाराहारीमा राजस्व संकलन गरिरहेको कार्यालयले बिहीबार बेलुकासम्म रु ७५ लाखमात्र असुल गरेको छ । 

कार्यालयले साउन २८ गते रु चार लाख, साउन २९ गते रु एक लाख ८७ हजार, ३० गते रु ३९ लाख र ३१ गते रु ५३ लाख, भदौ १ मा रु ७४ लाख संकलन गरेको थियो । 

“यो राजस्व पनि पहिलेदेखि नै आएर थन्किएका मालसामान जाँचपास गरेर संकलन गरिएको हो”, भन्सार अधिकृत हेमन्त न्यौपानेले भने । उनका अनुसार साउन २८ गतेयता केही भित्रिएको छैन । 

विराटनगर भन्सारले चालु आर्थिक वर्षमा रु ३१ अर्ब राजस्व संकलन गर्ने लक्ष्य राखेको भन्सार अधिकृत दिलीप केसीको भनाइ छ । रासस 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ