राती ढुक्कसँग निदाउन सक्दैनन् महाकाली तटीय क्षेत्रका जनता
ईश्वर दत्त बडू,
प्रकाशित २०७४ भदौ २ शुक्रबार
719
Shares
कञ्चनपुर । नेपालको पुर्वी भू–भागमा बाढी पहिरोका कारण ठुलो धनजनको क्षति पु¥याईरहेका बेला कञ्चनपुरको महाकाली तटीय क्षेत्रका स्थानीय त्रसित बनेका छन् । विगत महाकालीमा आएको बाढीले भीमदत्त र महाकाली नगरपालिका किनारका बस्ती विस्थापित गरेको झल्को सम्झदै तटीय क्षेत्रका स्थानीय त्रसित बनेका हुन् ।
सुदुरपश्चिमका पहाडी जिल्लामा अबिरल वर्षा हुँदा महाकाली नदीमा पानीको बहाब बढ्ने र बहाबले वर्षेनी नदी किनाराका बस्ती प्रभावित हुने भएपछि स्थानीय चिन्तित बन्दै गएका छन् । आकाशमा बादल बढारिँदा समेत चिन्ता हुने गरेको स्थानीयको अनुभव छ । वर्षाका कारण कञ्चनपुरका महाकाली किनारका गाँउ ब्रम्हदेव, जिमुवा, भुजेला, ऐरी, पिपरैया, चाँदनीदोधारा, लगायतका बासिन्दा त्रासपुर्ण वातावरणमा बाँचिरहेका छन् । सरकारले वर्षनी करोडौँ रकम खर्च गरेर तटबन्ध निर्माण गरेपनि पटक पटक तटबन्ध भत्किदा पीडित अझै ढुक्क भएका छैनन्।
महाकाली भुजेला तटीय क्षेत्रका स्थानीय खिमानन्द जोशीले तटबन्धको समय समयमा मर्मत सम्भार नहुँदा नदी गाउँ पस्ने समस्या रहेको बताए । ‘बनेका तटबन्धको भर छैन्, ‘उनले भने, ‘बनिसकेका तटबन्ध कतिखेर भत्किने हुन थाहा छैन् ।’ महाकाली प्रभावित क्षेत्रका अर्का स्थानीय बिष्णुमाया थापाले महाकाली नदी कति बेला तटबन्ध भत्काउदै गाँउ पस्ने खतरा रहेको चिन्ता व्यक्त गरिन् । ‘कतिबेला वाढी आउँने हो, त्रासै त्रासमा बाँचिरहेका छौँ, ‘उनले भनिन्, ‘रातिमा निन्द्रा छैन्, दिउँसो भोक छैन् ।’ तटबन्धका नाममा सिमितले कमाउने धन्दा मात्रै बनाएको उनको दुखेसो छ ।
सरकारले महाकालीमा वाढीआएपछि मात्रै तटबन्ध तटबन्ध बाँध्ने गरेको उनले बताए । समयमै तटबन्ध निर्माण हुनुपर्ने स्थानीयको भनाई छ । स्थानीयले महाकाली नदीको दायाँबाँयातिर पक्की तटबन्ध निर्माणको माग गरेपनि सरकारी पक्षबाट उचित पहल नभएको गुनासो गरेका छन् । महाकालीमा तटबन्ध निर्माणको जिम्मा पाएको जनताको तटबन्ध कार्यक्रम कञ्चनपुरले तटबन्ध निर्माण जारी रहेको जनाएको छ । स्थानीयले वाढी आएपछि रोकथामका कार्यक्रम संचालन गर्नुभन्दा पहिले नै प्रर्बद्धनात्मका कार्यक्रम संचालनमा जोडदिएका छन् ।
भारतले नदीमा पानीको बहाव बढ्ने बित्तिकै शारदा ब्यारेज नेपाल तर्फका ३४ ढोका सबै खोली दिने हँुदा पनि भीमदमत्त र महाकाली नगरपालिका महाकाली तटिय क्षेत्रका गाउँ बस्ती डुबानमा पर्ने गरेको स्थानीयको गुनासो छ । भारतीय पक्षले महाकालीमा निर्माण भएको बनबासा पुल पुरानो र जीर्ण भएको भन्दै नदीको वहाव १ लाख क्युसेक पुग्ने वित्तिकै चार पाङ्ग्रे सवारीका साधनको आवागमन समेत बन्द गर्दै आएको छ ।
जसले गर्दा भारतमा काम गरि नेपाल फर्कने र नेपाल बाट भारत तर्फ जाने यात्रुहरुले ले पनि निकै सास्ती बेहर्नु परेको छ । दशकौँदेखि महाकाली नदीकै कारण भीमदत्त र महाकाली नगरपालिकाका हजारौँ बिगाहा उर्बरा भूमी बगरमा परिणत गरिदिएको छ, भने सयौं घर डुबान र सयौं परिवार बिस्थापित भईसकेका छन् ।