विपद् व्यवस्थापनमा अन्तराष्ट्रिय सहयोग लिने सरकारको निर्णय, वितरण प्रभावकारी बनाउन निर्देशन
प्रकाशित २०७४ भदौ २ शुक्रबार
1k
Shares
काठमाडौं । सरकारले विपद् व्यवस्थापनको लागि अन्तराष्ट्रिय नियोगहरुसँग सहयोग लिने निर्णय गरेको छ । बिहीबार मुख्यसचिव राजेन्द्रकिशोर क्षेत्रीको संयोजकत्वमा बसेको विभिन्न मन्त्रालयका सचिवहरुको बैठकले यस्तो निर्णय गरेको प्रधानमन्त्री कार्यालयका प्रवक्ता हरिप्रसाद पन्थीले जानकारी दिए । यो सम्बन्धमा परराष्ट्र मन्त्रालयले सम्बन्धित नियोगलाई जानकारी गराउने निर्णय पनि गरिएको पन्थीले जानकारी दिए ।
तर यसरी दिईने रकम केन्द्रीय दैवीप्रकोप उद्दार समितिसँग समन्वय गरी समितिले तोकेको विषय र क्षेत्रमा मात्रै खर्च गर्न सक्नेगरी सहयोग गर्न सक्ने निर्णय गरिएको छ । त्यस्तै, विषयगत मन्त्रालयबाट खोजी र उद्दारका कार्यमा भएका दैनिक प्रगतिविवरण सोही दिन मन्त्रालय मार्फत् केन्द्रीय दैबी प्रकोप उद्दार समितिमा दिनुपर्ने निर्णय पनि सरकारले गरेको छ ।
बाढी प्रभावित क्षेत्रमा विच्छेद भएका विजुली र टेलिफोन लाईनहरु तत्काल मर्मत् गरी यस्ता सेवा तत्काल सुरु गर्न विषयगत मन्त्रालयले पहल गर्ने निर्णय पनि गरिएको छ । त्यस्तै विपद्बाट भएको क्षतिको बारेमा पनि सरोकारवाला निकायले स्थानीय तहसँग समन्वय गरी आवश्यक तथ्यांक संकलन गरी केन्द्रीय दैवीप्रकोप उद्दार समितिलाई जानकारी दिने निर्णय पनि गरिएको छ ।