काठमाडौं । महान्यायाधिवक्ता वसन्तराम भण्डारीले शुक्रबार महान्यायाधिवक्ताको कार्यालयमा पदवहाली गरेका छन् । राष्ट्रपति कार्यालयमा आयोजित कार्यक्रममा राष्ट्रपतिको उपस्थितिमा प्रधानन्यायाधीश गोपाल पराजुलीले महान्यायाधिवक्ता भण्डारीलार्इ पद तथा गोपनीयताको सपथ गराएका हुन् ।
सपथ ग्रहण कार्यक्रममा उपराष्ट्रपति नन्द बहादुर पुन, प्रधानमन्त्री शेर बहादुर देउवा, संवैधानिक निकायका प्रमुखहरू र नेपाल सरकारका सचिवहरु लगायत विशिष्ट अतिथिहरूको उपस्थिति रहेको थियो ।
सपथपछि कार्यालय पुगेका महान्यायाधिवक्ताको कार्यालयमा नायव महान्यायाधिवक्ताहरू लगायत सरकारी वकील र कर्मचारीहरूले महान्यायाधिवक्तालार्इ स्वागत गरेका थिए । महान्यायाधिवक्ता भण्डारीले स्वागत कार्यक्रमलार्इ सम्बोधन गर्दै दण्डहिनताको अन्त्य गर्न र कानूनको शासन कायम गर्न सरकारी वकीलको अभियोजन प्रमाणमा आधारित हुनुपर्ने बताए ।
उनले महान्यायाधिवक्ताको कार्यालयको दोस्रो पञ्चवर्षिय रणनीतिक योजनाले निर्दिष्ट गरे बमोजिम कार्यहरू सम्पन्न गर्न सबै सरकारी वकीलहरू एकजुट भएर कार्यान्वयन गर्नुपर्नेमा जोड दिए ।
उनले आफू सरकारी वकील कार्यालयको भौतिक क्षमता विकास,सरकारी वकील र कर्मचारीहरूको क्षमता विकासका क्रियाशील हुने उल्लेख गरे । नायव महान्यायाधिवक्ता दुर्गाबन्धु पोखरेलले कार्यालयको स्थितिको बारेमा महान्यायाधिवक्तालार्इ जानकारी गराएका थिए ।