arrow

राजपा चुनावमा जाने पक्का, अन्तिम निर्णय गर्ने जिम्मा अध्यक्षमण्डललाई

logo
प्रकाशित २०७४ भदौ ७ बुधबार
Rajapa-_news.jpg

काठमाडौं । राष्ट्रिय जनता पार्टी राजपा नेपालले स्थानीय तह तेस्रो चरणको निर्वाचनमा भाग लिने भएको छ । व्यवस्थापिका संसदबाट संविधान संशोधन विधेयक अस्वीकृत भएपछि समीक्षा गर्न र चुनावी रणनीति तय गर्न बसेको पदाधिकारी बैठकले चुनावमा सहभागि हुने निष्कर्ष निकालेको हो ।

चुनावमा सहभागि हुने अन्तिम निर्णय र चुनाव चिन्ह लगायतका विषयमा निर्णय गर्ने जिम्मा भने अध्यक्ष मण्डललाई नै दिइएको छ ।  मंगलबार र वुधबार गरी दुई दिन बसेको पदाधिकारी बैठकले निर्वाचनमा जाने कि नजाने भन्ने ठोस निर्णय लिने अधिकार पार्टी अध्यक्ष मण्डललाई दिएको राजपा महासचिव जितेन्द्र सोनलले बताए ।

हाम्राकुरासँग उनले भने, ‘चुनावमा जाने नै भइयो । अन्तिम निर्णय अध्यक्ष मण्डलले गर्ने छ । अध्यक्ष मण्डलको बैठकपछि विहिबार निर्णय सार्वजनिक हुन्छ ।’ पार्टीको चुनाव चिन्ह, प्रदेश नम्बर २ को निर्वाचनमा उम्मेदवार चयन गर्ने विधि र घोषणा पत्र तयारी समिति बनाउने जिम्मेवारी पनि अध्यक्ष मण्डललाई दिइएको महासचिव सोनलले बताए ।

पदाधिकारी बैठकमा बोल्ने अधिकांश नेताहरुले संविधान संशोधन प्रस्ताव फेल हुनुको कारण जनतालाई बुझाउन पनि निर्वाचनमा जानै पर्नेमा जोड दिए । राजपाका नेताहरुले एमालेकै कारण संविधान संशोधन विधेयक पारित नभएको सन्देश लिएर जनताबीच जाने समेत बताएका छन् ।

उनीहरुले संविधान संशोधनमा असयोग गर्नेलाई असहयोग गर्ने मात्रै नभई उनीहरुको भण्डाफोर गरिने बताएका छन् । संविधान संशोधन अस्वीकृत हुनुमा सत्ताधारीको पनि दोष रहेको भन्दै राजपाका नेताहरुले आफुहरुले कसैलाई स्यावासी नदिएको बताएका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ