प्रधानमन्त्री देउवा र भारतीय प्रधानमन्त्री मोदीबीच एकल भेट, यस्ता छन् बिहीबारका कार्यक्रम
प्रकाशित २०७४ भदौ ८ बिहिबार
552
Shares
काठमाडौं । भारतको पाँच दिने राजकीय भ्रमणमा रहेका प्रधानमन्त्री शेरबहादुर देउवाको बिहीबार विशेष दिन हो । उनले बिहीबार आपसी हित र सम्बन्धका विषयमा विस्तृत छलफल गर्दैछन् ।
प्रधानमन्त्री देउवाले भारतीय समकक्षी नरेन्द्र मोदीसँग एकल भेट र त्यसपछि दुवै देशका प्रतिनिधिमण्डलसँग सामूहिक भेटवार्ता गर्ने कार्यतालिका छ ।
देउवाले बिहान राजघाटमा रहेको महात्मा गान्धीको समाधिस्थल पुगेर गान्धीप्रति श्रद्धाञ्जली ब्यक्त गरेपछि औपचारिक भेटघाटका कार्यक्रम शुरु गर्दैछन् ।
राजघाटबाट प्रधानमन्त्री देउवा हैदराबाद हाउस पुगेर मोदीसंग एक्लाएक्लै भेटवार्ता गर्दैछन् । यही एकल भेटबाटै आगामी नीति तय हुनेछ ।
यो भेटलाई विशेष चासोका साथ हेरिएको छ । यही भेटले भोलिका दिनमा देउवाले भारतका बारेमा चाल्ने कदमको खाकासमेत कोरिने विश्लेषण गरिएको छ । हैदराबाद हाउसमै मध्यान्ह १२ बजेपछि दुवै देशका प्रधानमन्त्रीको उपस्थितिमा सामूहिक वार्ता हुनेछ ।
बिहीबार नै दुवै देशका प्रधानमन्त्रीले कटैया कुशाहा र रक्सौल परवानीपुर प्रसारण लाइनको रिमोट कन्ट्रोलबाट उद्घाटन गर्नेछन् । उद्घाटनपछि भारतबाट थप १ सय मेगावाट विजुली आयात गर्न सकिनेछ ।
यस्तै भूकम्पबाट क्षतिग्रस्त विद्यालय, स्वास्थ्यसंस्थ लगायत पुरातात्विक सम्पदा र निजी आवास पुनर्निर्माण सम्बन्धि चारवटा सम्झौतामा हस्ताक्षर हुनेछ ।
बिहीबार नै बेलुका देउवाले भारतीय राष्ट्रपति रामनाथ कोबिन्दसँग औपचारिक भेटवार्ता गर्नेछन् ।