arrow

मन्त्री साहले भने 'समीक्षा बैठक बढी कर्मकाण्डी भयो'

logo
प्रकाशित २०७४ भदौ ८ बिहिबार
mantri_shah.jpeg

काठमाडौं । सहरी विकास मन्त्री प्रभु साहले चुनौतीबाट भागेर समस्याको समाधान नहुने बताएका छन् । बुधबार सहरी विकास मन्त्रालय र अन्तर्गतका निकायहरुको वार्षिक प्रगति समीक्षा तथा मन्त्रालय स्तरीय विकास समस्या समाधान समितिको बैठकमा बोल्दै मन्त्री साहले चुनौतिको सामना गरेर मात्रै प्रतिफल प्राप्त गर्न सकिने बताए ।

मन्त्रालय र मातहतका निकायबाट सम्पादन भइरहेका कार्यहरुको प्रगति आउनु र नआउनुमा जनशक्ति, संरचना र नीति मुख्य विषय भएको उल्लेख गर्दै मन्त्री साहले पहिले यसमा स्पष्टता आवश्यक भएको बताए । ‘नयाँ शहर, स्मार्ट सिटी, मेगा सिटी भनेको के हो ? स्पष्टता सहित वर्गीकरण हुनुप¥यो कि परेन ?’ उनले भने, ‘यस विषयमा पहिले कार्यान्वयन गर्ने निकाय स्पष्ट हुनुहोस् त्यसपछि जनतालाई स्पष्ट गर्नुहोस् ।’

मन्त्रालय र जनताको बुझाईमा एकरुपमा आएपछि मात्र आयोजनाहरु कार्यान्वयन गर्न सहज हुने भएकाले त्यसलाई जोड्न सक्नुपर्ने मन्त्री साहले बताए । संघ, प्रदेश र स्थानीय तहले के के गर्ने हो त्यसमा स्पष्टता सहितको नीतिको आवश्यकता रहेको उनको भनाई रहेको थियो ।

मन्त्रालय मातहतका रुग्ण आयोजनाहरुको समस्या समाधान गरी त्यसलाई सुचारु रुपमा अघि बढाउनु मुख्य चुनौति भएकोले समस्या पहिचानका लागि समिति गठन गरिसकिएकाले अब अगाडि बढ्न सहज भएको साहले बताए । वार्षिक प्रगतिमा देखिएको समग्र प्रगति विवरण निरासाजनक नभएतापनि यत्तिले मात्रै राज्य र जनताको अपेक्षा पुरा गर्न नसक्ने हुँदा गति बढाउनु आवश्यक भएको उनको भनाई रहेको थियो ।

समीक्षा बैठक बढी कर्मकाण्डी हुने गरेको भन्दै त्यसमा सुधार आवश्यक रहेकोमा मन्त्री साहले जोड दिए । उनले निर्वाचित जनप्रतिनिधिहरु आफ्नो क्षेत्रमा स्मार्ट सिटी बनाउन लालयित भएकाले मन्त्रालयले त्यसको नेतृत्व गर्न सकेमा प्रतिफल प्राप्त हुने विश्वास व्यक्त गरे ।

सहरी विकास मन्त्रालयका राज्यमन्त्री छम बहादुर गुरुङले विगतको अनुभवबाट सिक्दै अगाडि बढ्नुपर्नेमा जोड दिए । राष्ट्रिय योजना आयोगका सदस्य डा. सुनिलबाबु श्रेष्ठले वित्तिय र भौतिक प्रगति कति भयो भन्ने भन्दा पनि त्यसले जनताले कति उपलब्धी प्राप्त गरे भन्ने मुख्य कुरा भएको बताए । सहरी विकास मन्त्रालय सपना बुन्ने मन्त्रालय भएको उनले बताए । श्रेष्ठले सहरी विकासमा जान समेत सुझाव दिए । सहरी विकास मन्त्रालयका सचिव दिपेन्द्रनाथ शर्माले यो वर्ष खर्चको बर्ष हुनुपर्नेमा जोड दिए ।

प्रगति विवरण प्रस्तुत गर्दै मन्त्रालयका सहसचिव द्वारिका श्रेष्ठले २०७४ असार मसान्त सम्मको वित्तिय प्रगति ९४.९८ % र भौतिक प्रगति १००% पुगेको बताए । मन्त्रालयका प्रमुख आयोजनाहरुको तेश्रो चौमासिकको भौतिक र वितीय प्रगति १००% पुगेको बताउँदै सहसचिव श्रेष्ठले ती आयोजनाहरुको वार्षिक भौतिक प्रगति ७७.१७% र वार्षिक वित्तीय प्रगति ७५.४६%रहेको जानकारी दिए ।

त्यसैगरी, सहरी विकास तथा भवन निर्माण विभागका महानिर्देशक शिवहरी शर्माले आ.व. २०७३÷७४ मा ७३ % वार्षिक वित्तीय र ८२% वार्षिक भौतिक प्रगति भएको बताए । उनले कूल संशोधित बजेट १४ अर्ब ९० करोड ३ लाख रुपैयाँ रहेकामा १० अर्व ८७ करोड ८८ लाख वित्तीय प्रगति भएको जानकारी दिए ।

सिंहदरबार सचिवालय पूनःनिर्माण समितिका सदस्य सचिव ई. प्रकाश बहादुर रघुवंशीले आ.व. २०७३÷७४ मा ८०.१८% बेरुजु फछ्र्याेट भएको जानकारी दिए । अधिकार सम्पन्न बाग्मती सभ्यता एकीकृत विकास समितिका सदस्य सचिव ज्योतिकुमार श्रेष्ठले आ.व. २०७३÷७४ मा ९०.३८ भौतिक प्रगति र ८८.४९ वित्तीय प्रगति भएको जानकारी दिए ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ