काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई संविधान संशोधन गराई छाड्ने बचन दिएका छन् । पाँच दिने राजकीय भ्रमणका क्रममा समकक्षी मोदीसँग भएको भेटपछि आयोजित संयुक्त पत्रकार सम्मेलनमा देउवाले संविधान संशोधन गराउने प्रतिवद्धता जनाए ।
अहिले दुई तिहाइ बहुमत नपुगेकाले संशोधन पारित हुन नसकको जानकारी दिँदै देउवाले दुई तिहाई मत जुटाएर संशोधन गर्ने बताए । भारतीय प्रधानमन्त्री मोदीले संविधानप्रतिको अडान कायम राख्दै सबैको सहभागितामा संविधान कार्यान्वयन गर्न सुझाव दिए लगत्तै देउवाले संशोधबाट आफू पछि नहट्ने प्रतिवद्धता जनाए ।
दुई तिहाई बहमुत नपुगेकाले संशोधन अस्वीकृत भएको भन्दै देउवाले भने, ‘मलाई विश्वास छ, भविश्यमा बहुमत आउँछ र संविधान संशोधन गर्छौं ।’
प्रधानमन्त्री देउवा र मोदीबीच हैदराबाद हाउसमा झण्डै आधा घन्टा कुराकानी भएको थियो । भेटमा दुई देशका विदेशमन्त्री र राजदूत समेत थिए ।
मोदीले दुई चरणमा स्थानीय चुनावको स्वागत गरे । मोदीले सबैसँग संवाद गर्दै सबैको आकांक्षा समाहित गरी संविधान सफलतापूर्वक लागू गर्ने विश्वास लिएका छन् । नेपालको आन्तरिक मामिलालाई खुकुलो बनाउँदै देउवाले संविधान संशोधन नभएपनि राजपा चुनावमा जान सहमत भइसकेको समेत बताएका छन् ।