arrow

ठूला दलमाथि राजपाको गम्भीर आरोप - 'मधेस विद्रोह सुरु भएको विन्दुमै पुर्‍याइयो'

कालोपट्टी बाँधेर चुनावको तयारी गर्ने

logo
प्रकाशित २०७४ भदौ ८ बिहिबार
Rajapa-_news.jpg

काठमाडौं ।  राष्ट्रिय जनता पार्टी राजपा नेपालले मधेस विद्रोहताका उठेको स्वायत्त मधेस प्रदेशको एजेण्डा झिकेको छ । अबका सबै चुनावको उपयोग गर्ने निर्णय गरिसकेको राजपाले स्वायत्त मधेस प्रदेशको मुद्दा स्थापित गरेरै छोड्ने जनाएको छ । विहिबार राजपा अध्यक्ष मण्डलको बैठक सकिएपछि अध्यक्ष मण्डलका एक सदस्य राजकिशोर यादवले भने, ‘स्वायत्त मधेस प्रदेशको मुद्दा पहिले देखिकै हो ।’

हाम्रो असन्तुष्टि हुँदा हुँदै पनि हामीले केही–केही काम अघि बढोस् भनेर सत्ता गठबन्धनले ल्याएको संशोधनलाई समर्थन गरेका थियौँ, यादवले अगाडि भने, ‘हामीले केही विषय रिजर्भेशनमा राखेर संशोधनलाई समर्थन गरेका थियौँ । पछि जाँदा हुन्छ भन्ने थियो ।’ संशोधन विधेयक अस्वीकृत भएसँगै अब फेरि हामीले शून्यबाट सुरु गर्नु पर्ने भयो ।  

उनले भनेका छन्, ‘हामीलाई फेरि मधेस विद्रोह जहाँबाट सुरु भएको थियो त्यही विन्दुमा धकेलियो । अब फेरि मधेस विद्रोहको विजारोपण भएकै मुद्दाबाट सुरु गर्नु पर्ने भयो ।’ चुनावमा जाने विषयमा आफुहरु पूर्ण रुपमा तयार भएको भन्दै उनले आन्दोलनको कडिको रुपमा चुनावलाई लिने बताए ।

चुनावमा जान तयार हुनुको दुई मूख्य कारण औँल्याउँदै उनले भने, ‘एउटा त जसका लागि हामी आन्दोलन गर्ने हो ति जनता उत्पीडनमा छन् । अहिले बाढीले पीडित भएका जनताबीच हामी आन्दोलन गर्न सक्दैनौँ । अर्को मधेसका मुद्दा सम्बोधन गर्न राज्य र मुख्य जिम्मेवार दलहरु गम्भीर नभएको कुरा घर–घरमा लैजाने अवसर जुरेको रुपमा चुनावमा जाने कुरा भएको हो ।’ जनादेशले समेत केही न केही असर छोड्ने छ ।

राजपा शुक्रबारबाटै चुनावमा होमिने भएको छ । अध्यक्ष मण्डलको बैठकपछि विहीबार पत्रकार सम्मेलन गरी राजपा असोज २ मा हुने दुई नम्बर प्रदेशको चुनावको तयारीमा लाग्ने जानकारी दिएको हो । पत्रकार सम्मेलनमा राजपा अध्यक्ष मण्डलका नेता राजेन्द्र महत्तोले भदौ ९ गते शुक्रबारबाट कालोपट्टि बाँधेर चुनावको तयारीमा लाग्ने बताउनु भयो ।

पत्रकार सम्मेलनमा राजपाले चुनाव तयारीका कार्यक्रम समेत सार्वजनिक गरेको छ । सार्वजनिक कार्यक्रमअनुसार शुक्रबार सबै जिल्लाका अध्यक्ष र केन्द्रीय सदस्य तथा पदाधिकारीको संयुक्त बैठक बसेर पर्यवेक्षक टोली बनाउने छ ।
त्यस्तै भदौ १० गते उम्मेदवारको नाम संकलन गर्ने, ११ गते उम्मेदारका लागि आएका नाम स्थानीय स्तरमै सहमति गर्न प्रयास गर्ने, १२ गते सहमति नभएका विषय जिल्लास्तरमा टुङग्याउने र १३ गते केन्द्रीय अध्यक्ष मण्डललाई उमेदवार चयनको प्रतिवेदन बुझाउने रहेका छन् ।  

त्यस्तै राजपाले निर्वाचनका लागि २ नम्बर प्रदेशका आठवटै जिल्लामा केन्द्रीय प्रतिनिधि खटाएको छ । पत्रकार सम्मेलनमा दिएको जानकारी अनुसार सिराहामा गजाधर यादव, धनुषामा अरुण सिंह, महोत्तरीमा गोविन्द चौधरी, सर्लाहीमा शेखर सिंह, रौतहटमा सत्यनारायण मण्डल, वारामा मालावती राना थारु, पर्सामा विजय गुप्ता र सप्तरीमा नरसिंह चौधरी रहेका छन् ।
राजपाले सरकारले आफ्ना मागमध्ये ६ वटा माग पुरा गरेकोले निर्वाचन गएको पनि प्रस्ट्याएको छ ।  

पत्रकार सम्मेलनमा राजपा अध्यक्ष मण्डलका नेता राजेन्द्र महत्तोले शहीद घोषणा, घाइतेलाई आर्थिक सहयोग, मुद्धा फिर्ता, टिकापुर घटनाको क्षतीपुर्ति, स्थानीय तहको संख्या बढाउने निर्णय र संशोधन विधेयक संसदमा निर्णायार्थ प्रस्तुत गरेकाले चुनावमा गएको जानकारी दिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ