प्रधानमन्त्री देउवालाई भारतमा नागरिक अभिनन्दन, देउवाको खुलेर प्रशंसा
एकराज पाठक
प्रकाशित २०७४ भदौ ९ शुक्रबार
376
Shares
नयाँदिल्ली । प्रधानमन्त्री शेरबहादुर देउवालाई इन्डिया फाउन्डेशनद्वारा बिहीबार यहाँ आयोजित एक कार्यक्रमका बीच नागरिक अभिनन्दन गरिएको छ ।
सो अवसरमा प्रधानमन्त्री देउवाले नेपालको प्रजातान्त्रिक अभियानका साथै आर्थिक सामाजिक विकासमा भारतको योगदानको चर्चा गरे ।
भारतले विज्ञान प्रविधि, सामाजिक विकास र अन्य नवीनतम आविष्कारका क्षेत्रमा गरेको प्रगति हाम्रो वर्तमान समाजका लागि एक प्रेरणादायी उदाहारण हुने बताउँदै उनले भारतीय स्वतन्त्रताको ७० वर्ष पूरा भएको अवसरमा भारतका नागरिकलाई विशेष बधाई ज्ञापन गरे ।
प्रधानमन्त्री देउवाले भारत एक ठूलो प्रजातान्त्रि देशका हैसियतले आफ्नो देशको बहुलवादी समाज र अपेक्षाहरुलाई एकताको सूत्रमा बाँधेर राख्न सक्ने सफल राष्ट्रका रुपमा रहेको चर्चा गर्दै भारतीय स्वतन्त्रता संग्राममा नेपालका पूर्व प्रधानमन्त्री एवं आफ्नो पार्टी नेपाली काँग्रेसका संस्थापक विश्वेश्वरप्रसाद कोइरालाको योगदानको पनि स्मरण गरे ।।
सन् १९४२ मा नेपालका प्रजातन्त्रवादी नेता विपी कोइरालाले भारतका शान्तिवादी नेता महात्मा गान्धीले शुरु गरेको भारत छोड आन्दोलनमा सक्रियरुपमा सहभागी भएको स्मरण गर्दै उनले नेपालका हरेक प्रजातान्त्रिक आन्दोलनमा भारतीय नागरिकको सहयोग र सद्भाव रहेको र त्यसका लागि भारतीय नागरिकलाई धन्यवाद ज्ञापन गरे ।
प्रधानमन्त्री देउवाले नेपालले आफ्ना जनप्रतिनिधिमार्फत अफैँले संविधान लेखेको र त्यो संविधान संसारकै समावेशी र प्रजातान्त्रिक मूल्य मान्यतामा आधारित रहेर लेखिएको बताए ।
भारत र चीन दुवै नेपालका असल छिमेकी राष्ट्र हुन् भन्दै उनले दुवै देशसँग उत्तिकै राम्रो सम्बन्ध रहेको र कतै पनि कुनै समस्या नरहेको स्पष्ट पारे ।
कार्यक्रममा फाउन्डेशनमा आबद्ध तथा दिल्लीमा रहेका प्रबुद्ध वर्गले नेपालको प्रजातान्त्रिक आन्दोलनमा प्रधानमन्त्री देउवाले पुर्याएको महत्वपूर्ण योगदानको खुलेर प्रशंसा गरे । रासस