भारतीय हिरासतमा रहेका नेपाली १७ दिनपछि मुक्त, बाँचेर फर्केको प्रतिक्रिया
प्रकाशित २०७४ भदौ ९ शुक्रबार
488
Shares
काँकडभिट्टा । भारत पश्चिम बंगालको सिलगढीमा पक्राउ परेर भारतीय प्रहरीको हिरासतमा राखिएका नेपाली नागरिक उदय फागो १७ दिनपछि बिहीबार राति मुक्त भएका छन् ।
इलाम जिल्लाको सूर्योदय नगरपालिका–१० फिक्कल घर भएका उनलाई गत साउन २३ गते दिउँसो भारतको सिलगढी नगरस्थित फेमिली क्लिनिकमा आमाको उपचार गराउन गएका बेला भारतीय प्रहरीले पक्राउ गरी दार्जिलिङको गोर्खाल्याण्ड आन्दोलनमा सघाएको आरोप लगाएको थियो ।
सिलगढीस्थित भारतीय अदालतबाट उनी तारेखमा रिहा भएर बिहीबार राति ९ बजे काँकडभिट्टा आइपुग्नुभएको हो । रिहा भएर स्वदेश आइपुगेका फागोले भारतीय हिरासतमा रहँदा मानसिक यातना व्यहोर्नु परेको र आफू बाँचेर आएको प्रतिक्रिया दिए ।
आफूले कुनै गैरकानूनी काम नगरेको उल्लेख गर्दै उनले भारत सरकारले अनाहकमा आतंकवादीको जस्तो व्यवहार गरेकोमा दुःख व्यक्त गरे ।
राष्ट्रिय मानवअधिकार परिषद्का अध्यक्ष तुलसी थापाले मानवाधिकारवादी, नेपाली पत्रकार र परिवारजनको पहलमा उनको रिहाइ भएको बताए । रासस