अखिल क्रान्तिकारीको विधान प्रतिवेदन सर्वसहमतिले पारित, नेतृत्वमा उमेरहद नलाग्ने
प्रकाशित २०७४ भदौ १० शनिबार
625
Shares
काठमाडौं । प्रमुख सत्ता साझेदार माओवादी केन्द्रको भ्रातृ संगठन अखिल क्रान्तिकारीको २१औं राष्ट्रिय सम्मेलनले नेतृत्वका लागि उमेरहद नलाग्ने गरी विधान प्रतिवेदन पारित गरेको छ ।
समूहगत छलफलको निष्कर्ष राख्ने क्रममा उमेरहद लागू गर्नुपर्ने विषयमा लार्मो बहस भएपनि अन्ततः तत्काल उमेरहद नलगाउने निर्णय भएको छ ।
आउँदो एक वर्षभित्र विधान सम्मेलन गर्ने र उमेरहद लगायत समग्र सांगठनिक संरचनाबारे छलफल गरी टुंगो लगाउने सहमति भएको अखिल क्रान्तिकारीका निवर्तमान उपाध्यक्ष सुरेन्द्र बस्नेतले जानकारी दिएका छन् ।
सम्मेलनको बन्दसत्रका सहभागिले स्ववियु चुनावमा अखिल क्रान्तिकारी कै एजेण्डाअनुसार २८ वर्षे उमेर हद लागू भएको र अब संगठनभित्र पनि उमेर हद लागू गर्नुपर्ने धारणा राखेका थिए । सहभागिले ३५ वर्ष नाघेकाहरु संगठनको नेतृत्वमा हुन नहुने प्रस्ताव समेत गरे ।
अध्यक्षका लागि अनिल शर्मा, रञ्जित तामाङ, रामचन्द्र अधिकारी, मदन अर्याल, सुरेन्द्र बस्नेत, बीरेन्द्र बस्नेत र पञ्चा सिंहले दाबी गरिरहेका छन् । उमेरहद लागेको भए केहीलाई असहज हुने बताइन्छ ।
विघटित कमिटीका अध्यक्ष नरेन्द्र नयौपानेले प्रस्तुत गरेको राजनीतिक तथा सांगठनिक प्रतिवेदन र विधान मस्यौदा प्रस्ताव शनिबार सर्वसम्मतिले पारित भएको छ ।
अध्यक्ष न्यौपानेले तेस्रो दिनको बन्द सत्रमा विभिन्न २१ वटा समूहका टोली नेताले राखेका सुझाव र धारणाको जवाफ दिएपछि हाउसले सर्वसम्मतिले प्रतिवेदन पारित गरेको हो ।
यो पारित भएलगत्तै निर्वाचन समितिले नयाँ नेतृत्व चयन प्रकृया अघि बढाएको छ । शनिबार मतदाता नामावली प्रकाशित हुने र आइतबार निर्वाचन हुने निर्वाचन समिति संयोजक रमेश मल्लले जानकारी दिए । निर्वाचनबाट नेतृत्व चयन गर्न लागिएको अखिल क्रान्तिकारीको इतिहासमै यो पहिलो पटक हो ।
अखिल क्रान्तिकारीको सम्मेलनको नयाँ नेतृत्व चयन प्रक्रियामा २ हजार ३४ मतदाताले मत हाल्ने छन् । यी मतदाताले संशोधित विधान अनुसार ३३ सदस्यीय पदाधिकारी र दुई सय ४३ सदस्यीय केन्द्रीय समिति निर्वाचित गर्ने छन् ।
यसैबीच, अखिल क्रान्तिकारीले समाजवादी शिक्षा प्राप्तिलाई नयाँ कार्यदिशा बनाएको छ । पारित राजनीतिक प्रतिवेदनमा जनवादी शिक्षाको चरण पार गरिसकेको भन्दै अब समाजवादी शिक्षा प्राप्तिलाई नयाँ कार्यदिशा बनाउने उल्लेख छ । अखिल क्रान्तिकारीले स्थापनाकालदेखि नै जनवादी शिक्षालाई मूल एजेण्डाको रुपमा अघि सार्दै आएको छ ।