arrow

राष्ट्र र राष्ट्रियता के हो ? यसको परिभाषा कसरी गर्ने?

logo
डा प्रकाश ढकाल,
प्रकाशित २०७४ भदौ ११ आइतबार
nation-mahabharath-11.jpeg

काठमाडौ । राज् धातुबाट सर्वधातुभ्यः ष्ट्रन् सूत्रले ष्ट्रन् गरेर राष्ट्र शब्द बन्दछ । वैदिक वाङ्मयमा देश,जनपद,भूमि आदि शब्दलाई राष्ट्रको पर्यायवाची शब्दका रुपमा प्रयोग गरिएको पाइन्छ । यसरी शाब्दिक दृष्टिले सुसंस्कृत र सुसाशित देश नै राष्ट्रका रुपमा परिभाषित हुन्छ । सामान्यतया राष्ट्र भन्नाले जनसमुदाय सहितको थलो वा देशलाई बुझिन्छ । व्यक्तिको सामाजिक, सांस्कृतिक, धार्मिक, आर्थिक र राजनीति आदि विविध उन्नतिहरुको आधारशिला राष्ट्र हो ।  राष्ट्रको समुन्नतिमा व्यक्तिको उन्नति निहित छ । 

तर आधुनिक तात्पर्यमा देश र राष्ट्र भन्नाले उस्तै कुरा बुझिने भए पनि राष्ट्र र राज्यको अवधारणा चाँहि अलिक भिन्न छ । अहिले एउटा ‘राष्ट्र’ भित्र अनेकौँ ‘राज्य’ हुन सक्छन् । तर वैदिक अवधारणामा चाँहि राष्ट्र र राज्य वीच कुनै भिन्नता रहेको पाइदैन । वैदिक राष्ट्रहरु आधुनिक गणराज्य जस्तै हुन् । जहाँ राजा वा राष्ट्रप्रमुख जनताद्वारा चुनिन्थे ।  

आधुनिक तात्पर्यमा चाँहि ‘राष्ट्र’ भन्नाले निश्चित भूगोलमा बसोबास गर्ने त्यस्तो जन समूहलाई बुझिन्छ, जसको आफ्नै एउटा पहिचान हुन्छ । ‘राष्ट्र’ बन्नका लागि त्यहाँ बस्ने जनताको भाषा, धर्म, इतिहास, संस्कृति, नैतिक आचार वा मूल उद्गममध्ये  केही कुरा मिल्नुपर्छ । यही साझा मिलनबिन्दुले उनीहरुलाई आपसमा जोडेर राख्छ र उनीहरु एउटै राष्ट्रका नागरिक बन्छन् । यसरी ‘राष्ट्र’ लाई बुझिने गरी एउटा त्यस्तो जनसमूहका रुपमा परिभाषित गर्न सकिन्छ, जो निश्चित भौगोलिक सीमाभित्रको एउटै देशमा बस्छ, समान परम्परा, समान हित र समान भावनाले बाँधिएको छ र जसमा एकताबद्ध हुने उत्सुकता एवं समान राजनीतिक महत्वाकाङ्क्षा छ । जसरी समुन्द्रमा पुगेपछि नदीहरुको जल एकरुप र एकाकार हुन्छ, त्यसैगरी राष्ट्रले विभिन्न वर्गका मानिसहरुलाई एक रुपता प्रदान गर्छ । 

राष्ट्र र राष्ट्रियता
राष्ट्रियता भनेको एक विश्वास वा भावना हो, जसको माध्यमबाट व्यक्तिले आफ्नो राष्ट्रसँग आफूलाई गाँसेर हेर्छ, आफ्नो परिचय प्रस्तुत गर्छ र एक प्रकारको लगाव प्रकट गर्छ । राष्ट्रियता स्वभावैले आत्मिक र आन्तरिक हुन्छ । राष्ट्रवाद त्यस्तो आस्था वा प्रेमपूर्ण बन्धनको नाम हो, जस अन्तर्गत आफ्नो साझा इतिहास, परम्परा, भाषा, जातीयता र संस्कृतिका आधारमा मानिसहरु एकजुट हुन पुग्छन् । वस्तुतः राष्ट्रप्रतिको अपनत्व र प्रेमको शाब्दिक रुप नै राष्ट्रवाद हो । परस्परमा अनेकौँ समानताहरु भए पनि राष्ट्रियता र देशभक्तिबीच केही भिन्नताहरु छन् । राष्ट्रियता राष्ट्रबासी बीचको  कुनै कार्यक्रम वा योजनासँग गाँसिएको हुन्छ भने देशभक्ति वैयक्तिक अनुभूतिमा सीमित रहन्छ । देशभक्तिले राष्ट्रियतालाई बढाउँछ । 

शत्रुहरुका विरुद्धको सङ्घर्ष, समान आर्थिक हित र सम्पूर्ण समाजको समृद्धिका लागि प्रयास, यस्ता विचारहरुले मानिसलाई देशभक्तिको भावनायुक्त समुदाय बनाउँछन् । यही नै ‘राष्ट्र’ शब्दको सही अर्थ हो । राष्ट्रियताको भावनाले ओतप्रोत व्यक्ति आफ्नो र राष्ट्रको एकसाथ उन्नतिको कामना गर्छ । राष्ट्रियताकै भावनाबाट राष्ट्रवाद विकसित हुन्छ, । राष्ट्रवाद जनसमूहमा विद्यमान एकताको  नाम हो, जसले समुदायलाई सँगै बस्न र बाहिरी आक्रमणको सामूहिक प्रतिरोध गर्न प्रेरित गर्छ । सदस्यहरुमा आत्मीयता,साहचर्य,सहयोग र समझदारी राष्ट्रको प्रधान लक्षण हो । राष्ट्रको सबलताको रक्षाका लागि नागरिकहरुमा अदम्य साहस, अटुट देशप्रेम र आत्मोत्सर्ग आदि गुणहरुको आवश्यकता हुन्छ । 

संस्कृति
संस्कृति भेषभूषा, रहनसहन, धर्म, भाषा, साहित्य, कला, दर्शन, खानपान, वास्तुशैली आदिका माध्यमले प्रकट हुने कुनै जाति विशेषको पहिचान हो । हाम्रा ज्ञान, कर्म र रचनालाई संस्कृतिका कोटीमा राख्नका निमित्त हामी संस्कार सम्पन्न हुनु आवश्यक छ । धर्म र नीतिको उदात्त प्रेरणालाई नै संस्कृति भनिन्छ । दर्शन, धर्म, साहित्य, जीवन र कलाका क्षेत्रमा मान्छेले गरेका समस्त कार्य–कृति नै उसको संस्कृति हो । भौतिक अलङ्कारले र आध्यात्मिक चिन्तनले मात्रै संस्कृति निर्मित हुँदैन । जसरी पाँच तत्व मिसाएर पञ्चामृत बनाइन्छ त्यसरी नै अनेक भौतिक आध्यात्मिक तत्वको योग नै नेपाली संस्कृति भइसकेको छ । 


 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ