arrow

लिच्छविकालको त्यो निर्वाचन, अहिलेको यो निर्वाचन 

logo
सुदर्शन अर्याल,
प्रकाशित २०७४ भदौ १२ सोमबार
ancient-india.jpg

काठमाडौं। सुन्दै पनि अचम्म लाग्न सक्छ। लिच्छविकालमा  निर्वाचनको भरपुर प्रयोग गरिएको थियो भन्ने कुरा कुरा सुन्दा केही उत्सुकता र केही अचम्म पनि लाग्न सक्छ। तर, किराँतकालदेखि नै निर्वाचनको पृष्ठभूमि सुरु भएको मानिन्छ। किराँत काल नेपालमा इशापूर्व ८ औं शताव्दीदेखि सुरु भएर इशापूर्व दोस्रो शताब्दीसम्म चलेको अपुष्ट जानकारी पाईन्छ। यस कालका कुनैपनि लिखित इतिहास त पाईएको छैन। तर, लिच्छविकालीन शिलालेखहरुमा भने यसको बारेमा केही कुराहरु लेखिएको पाईन्छ। 

राईटको वंशावली र लिच्छविकालीन समयको केही शिलालेखमा उल्लेख भएअनुसार त्यतिबेला खासै प्रशासनिक सुधार, कर प्रणाली र राज्य व्यवस्थाको विकसित स्वरुप सुरु भएको थिएन। वंशावलीको अन्तिम तिर अलिकति विकासको स्वरुप त देखियो। तर, त्यतिबेलासम्म उनीहरु खासै तल्लो तहसम्म प्रशासनिक सुधार तर्फ ध्यान दिन सक्ने अवस्थामा थिएनन्।

किराँतकाल पछि सुरु भयो लिच्छवि काल। यो समय थियो पहिलो शताव्दीदेखि आठौं शताव्दीसम्मको। पाञ्चाली शासनको रुपरेखा भन्ने पुस्तकमा उल्लेख भए अनुसार मगधका राजा अजातशत्रुले वैशालीमाथि आक्रमण गरेपछि त्यहाँबाट भागेर आएका लिच्छविहरुले नेपालमा शासन सुरु गरेका थिए। राज्यसत्तामा सर्वसाधारणहरुले सहभागिता पाउने व्यवस्था लिच्छविहरुले नै गरे। उनीहरुको समयमा नै राजा र प्रजाबीचको आदर्श सम्बन्धको खाका तयार भएको थियो र त्यतिबेला यो व्यवहारमा समेत लागू भएको थियो भन्ने कुरा लिच्छविकालका अनेकानेक शिलालेखहरुमा उल्लेख छ। 

त्यतिबेला यति नै संख्यामा स्थानीय निकाय बनाईएको थियो भन्ने यकिन प्रमाण भने भेटिएको छैन। तरपनि लिच्छवी कालमा ग्रामीण क्षेत्रमा मात्रै ग्राम, तल र द्रंग गरी ३ श्रेणीमा स्थानीय निकाय विभाजित भएका थिए। यसरी स्थानीय शासन गर्नको लागि पाञ्चाली र गोष्ठीहरुको व्यवस्था गरिएको थियो। पाञ्चालीलाई उच्च पाञ्चाली र गाउँ स्तरको पाञ्चाली भनेर विभाजन गरिएको थियो। त्यस्तै, गोष्ठीहरु पनि पारिवारिक र गुठीयार गरी दुई प्रकारका थिए। उनीहरुको नियुक्तिको प्रक्रिया नै एक किसिमको निर्वाचन प्रक्रिया हो। त्यतिबेलाको गोष्ठीको नाम परिमार्जन हुँदै अहिले गुठीमा आएर मिलेको छ। गाउँको मुखिया द्वारेहरु छनोट गर्नको लागि पनि छुट्टै निर्वाचन प्रक्रिया अपनाईन्थ्यो। 

त्यतिबेला पनि सक्षम व्यक्तिहरुमध्येबाट एक जनालाई चयन गरिन्थ्यो। अहिलेजस्तो सबै प्रक्रिया पूरा त गरिने थिएन । त्यहाँ त बरु प्रयोगात्मक परीक्षा लिएर मात्रै कुनै पदमा नयाँ मान्छे नियुक्त गरिन्थ्यो। त्यहीँबाट नै निर्वाचनको सुरुवात भएको मान्न सकिन्छ। 

लिच्छवीहरुको यो समयावधी सकिएपछि झण्डै एक हजार वर्षलाई मध्य युगको रुपमा मानिन्छ। कर्णाली प्रदेशको मध्यकालीन इतिहास भन्ने पुस्तकको आधारमा भन्ने हो भने नेपालमा मध्यकालमा धेरै राजनीतिक खिचातानीहरु भए। यस समयमा नेपाली कला कौशलहरु धेरै विकास भए। तर, यस समयका राजाहरु धेरै उदार स्वभावका भएका कारण पनि यस समयमा राजाहरुले समेत स्थानीय जनप्रतिनिधिहरुलाई व्यापक महत्व दिएका थिए। 

यतिबेला आईपुग्दा धार्मिक र जातीय कट्टरताको विकास भयो। यसले राजाले आफ्ना स्थानीय जनप्रतिनिधिहरुको छनोट प्रक्रियामा पनि यसले असर पारेको पाईन्छ। यस समयामा राजाहरुको छनोट हकदारी  व्यवस्था अनुसार गरिन्थ्यो। यसरी सत्ता हस्तान्तरणमा कुरा नमिलेपछि डोयहरुलाई सहयोगको लागि बोलाईयो र उनीहरुले आक्रमण गरेको इतिहास पनि हामीहरु सामु छ। 

जयस्थिती मल्लको शासनकाल पछि राजाका छोराहरु राजा बन्ने प्रचलनको व्यवस्था गरिए। ऐतिहासिक पत्र संग्रह नामक पुस्तकका अनुसार देशमा अनुकूल परिस्थिती नभएको अवस्थामा भक्तपुरका तत्कालीन राजा रणजीत मल्लले आफ्नो राज्यको २४ टोलमा नै नाईकेको रुपमा जनप्रतिनिधिको व्यवस्था गरेका थिए। उनीहरु त्यो गाउँको भद्र भलाद्मी र सबैको प्रिय मानिसलाई छान्ने गरिएको थियो। मल्लले राज्यलाई समस्या पर्ने वित्तिकै २४ वटै स्थानीय निकायका नाईकेहरुलाई बोलाएर सुझाव लिने गरेका थिए। त्यतिबेला टोलका नाईकेहरुलाई प्रजापञ्चको रुपमा दर्जा दिईएको थियो। 

यसरी लिच्छवी कालमा पाञ्चाली अन्तर्गत् जनता संगठित भए। राजाले निर्वाचनको एउटा प्रक्रिया अन्तर्गत्कोे मनोनयन प्रक्रिया मार्फत् नेतृत्व चयन गर्न थाले। त्यतिबेला जनताले सीधा भोट हाल्ने प्रचलनको विकास हुन नसक्नु पनि नाजायज कुरा होईन। मध्यकालमा स्थानीय पञ्चायतको रुपमा शहरी टोलटोलमा नेतृत्व चयन गर्ने प्रचलन ल्याईयो। यसलाई पनि निर्वाचनको एउटा महत्वपूर्ण उपलब्धी मान्न सकिन्छ। त्यतिबेला गाउँलेहरुको सुरक्षा समेत प्रजापञ्चले गर्नुपर्ने हुन्थ्यो। स्थानीय र केन्द्रीय गरी त्यतिबेला दुई प्रकारका पञ्चप्रमानको रुपमा नियुक्त गरिन्थ्यो। 

केन्द्रीय स्तरको पञ्चायतलाई पञ्चसमुच्चय मानिन्थ्यो। यसको सभालाई पञ्च कचहरी मानिन्थ्यो। पञ्च समुच्चयबाट पाँचजनालाई छानेर पञ्च कचहरीमा पठाईन्थ्यो। यसरी छानिएर गएका प्रतिनिधिलाई पञ्चप्रमान भनिन्थ्यो भन्ने विभिन्न ऐतिहासिक पुस्तकहरुमा उल्लेख गरिएको छ। राजाले पञ्च प्रमान मध्ये एक जनालाई प्रमुख प्रमानको जिम्मेवारी दिन्थे। 

यसरी लिच्वविकालदेखि नै सुरु भएको निर्वाचनको इतिहास अहिलेसम्म आईपुग्दा एउटा नियमित प्रक्रियाको रुपमाविकास भएको छ। यस अघि मनोनयनको निर्वाचन प्रक्रिया मात्रै अपनाईएको नेपालमा अहिले प्रजातन्त्र, लोकतन्त्र हुँदै गणतान्त्रिक शासन व्यवस्थासम्म आईपुग्दा निर्वाचन प्रणालीमा पनि व्यापक सुधार भएको छ। अहिले जनताले प्रत्यक्ष रुपमा आफ्नो नेतृत्व चयन गर्न सक्ने अवस्थाको सिर्जना भएको छ। 

कुन कालमा कसरी निर्वाचन प्रक्रिया अघि बढ्यो भन्नेबारे विस्तृतमा पछिल्ला अंकहरुमा प्रस्तुत हुँदै जाने छ। यद्यपि यी विषयबस्तुले पनि नेपालमा निर्वाचनको पृष्ठभूमि बोक्ने लिच्छवि कालदेखि आजसम्मको निर्वाचनको अन्तर भने स्पष्छ हुने देखिन्छ। 
 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ