arrow

निर्वाचन क्षेत्र निर्धारण आयोगको सोमबार नै प्रतिवेदन बुझाउने तयारी

logo
प्रकाशित २०७४ भदौ १२ सोमबार
nirwachan_chhetra_nirdharan.jpg

काठमाडौं । प्रदेश सभा र प्रतिनिधि सभाको लागि महत्वपूर्ण मानिएको निर्वाचन क्षेत्र निर्धारण सम्बन्धी प्रतिवेदन सोमबार प्रधानमन्त्रीलाई बुझाउने तयारी भईरहेको छ । निर्वाचन क्षेत्र निर्धारण आयोगले आयोगले प्रदेशसभा र प्रतिनिधिसभाको निर्वाचन क्षेत्र तय गरी प्रतिवेदन बुझाउने तयारी गरिरहेको आयोगका सदस्य माधव अधिकारीले हाम्राकुरालाई जानकारी दिए । उनका अनुसार प्रधानमन्त्री शेरबहादुर देउवाले समय दिए आजै प्रतिवेदन बुझाउन आयोग तयार रहेको छ । 

२१ दिने समयावधिभित्र क्षेत्र निर्धारण गर्न नसकेपछि १५ दिन थप गरिएपछि  आयोगले प्रतिवेदन तयार पारेको हो । आयोगले प्रदेश सभाका लागि ३ सय ३० र प्रतिनिधिसभाका लागि १ सय ६५ निर्वाचन क्षेत्र निर्धारण गरेको छ । हरेक जिल्लाको निर्वाचन सीमा निर्धारण गरी नक्सासहितको प्रतिवेदन तयार भएको छ । प्रतिवेदनमा आजै अन्तिम हेरफेर गर्ने सदस्य अधिकारीले बताएका छन् ।  

आयोगले ७७ वटा जिल्लामा प्रतिनिधिसभाका लागि कम्तीमा एउटा निर्वाचन क्षेत्र हुने गरी प्रतिवेदन तयार पारेको छ । संविधानले जिल्लामा कम्तीमा एउटा निर्वाचन क्षेत्र रहने र बाँकी निर्वाचन क्षेत्र जनसंख्याका आधार निर्धारण हुने व्यवस्था गरेको छ । यसै अनुसार ७७ जिल्लामा ७७ निर्वाचन क्षेत्र कायम भएपछि बाँकी ८८ वटा निर्वाचन क्षेत्र जनसंख्याका आधारमा निर्धारण भएको छ । 

जनसंख्याका आधारमा निर्वाचन क्षेत्र निर्धारण गर्दा प्रदेश नम्बर ३ मा सबैभन्दा बढी अर्थात् ३३ वटा भएको बताइएको छ । यस्तै, प्रदेश नम्बर २ मा ३२ र सबैभन्दा कम निर्वाचन क्षेत्र भने प्रदेश नम्बर ६ मा १२ वटा तय गरिएको छ ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ