भुपतिन्द्र मल्लले सुरु गरेको ‘हनुमान नाच’ संरक्षणमा जुटे बागलुङका नेवार समुदाय
नारायण रिजाल,
प्रकाशित २०७४ भदौ १२ सोमबार
912
Shares
बागलुङ । पुर्खाको धार्मिक संस्कृति धान्नका लागि बागलुङका नेवार समुदाय निकै अग्रसर देखिएका छन भुपतिन्द्र मल्लले भक्तपुरमा सुरु गरेको ‘हनुमान नाँच’ बागलुङका नेवार समुदायले पनि यसको संरक्षणमा नाँच्ने गरेका छन ।
तल माथि रातो पहिरन र कम्मरमा सेतो फरक खालको पहिरनमा पुच्छर जोडेका हनुमान जस्तै देखिने युवा र बालबालिका दुई हातमा लठ्ठी लिएर नाच्न थाल्न थाल्छन । उनहरुको खुट्टामा घलङ(बझाउने मुजुरा) बाँधिएको हुन्छ । यो हनुमान नाचले नेवार समुदायको परम्परा, संस्कृति, धार्मिक मूल्यमान्यतामा आधारित नाच हो । धार्मिक, सांस्कृतिक र चारित्रिक रुपमा ठीक ठाउँमा राख्न पनि सघाउ पुग्ने विश्वासले यो नाचमा सहभागी गराउँछन् ।
यो नाचले मनोरन्जनसँगै व्यायाम पनि हुने हनुमान नाँचमा गर्ने युवा सुदिप राजभण्डारी बताउँछन । यो नाँच बेलाबेलामा निकाल्नुका साथै जिल्लामा हुने विभिन्न मेला महोत्सवका पनि यसलाई देखाईने गरिने बताईएको छ ।
बाजाको तालमा नाच्दा शरिर फुरुङ्ग हुने र सुरुमा टोली नेता (ज्यामाको)ले प्रारम्भ गरेपछि अरुले पनि त्यसकै इसारामा यो नाच नाँच्ने गर्दछन । एक समुहमा न्यूनतम १४ जना हुन्छन् । यो नाच नाच्न निकै कठिन हुन्छ । बाजाको तालमा एक अर्काले लठ्ठी ठोक्नु पर्ने हुन्छ । विभिन्न प्रकारका ताल छोपेर नाच्नु पर्छ । देवालय, सलामी, छ ताल, बाह्र ताल, २४ ताल, लंका पार गर्ने पद्यती लगायतका नाचले निकै रमाइलो बनाउँछन् हनुमान नाचमा संलग्न पूजारी बालकले सेता गन्जी र कछाड बाँध्ने गर्छन् । नाच्नेहरु ‘हनुमानको स्वरुप’मा उत्रिन्छन् ।
रातो र सेता पोशाकमा सजिएका बालकहरुको पछि हनुमानको जस्तै पुच्छर जोडिएको हुन्छ । दुई पण्डितहरुले धुप बालेरे विधिवत पूजा गर्ने गर्दछन । निधारमा रातो टिको र माला पनि लगाउँछन् । हनुमान नाच संरक्षण परिषदका सचिब इश्वर प्रसाद श्रेष्ठले बताए अनुसार नेवार समुदायमात्र सहभागी हुँदै आएको यो नाचमा अहिले ब्राह्मण समुदायका बालकहरु पनि सहभागी भएका छन् । यसले सांस्कृतिक अन्तरघुलन भएको छ । नेवार समुदायका बालबालिका नाच्दै आएको भए पनि आँफुले पनि तालिम लिएको ब्राह्मण समुदायका सहभागि एक बालकले बताए।
यो नाच ६ वर्षदेखिनै बच्चाहरुलाई नाच्न सिकाउने गरेको नाच इन्डियन र तीब्बती संस्कृतिको मिश्रण भएको भन्ने भनाई रहेको छ । भक्तपुरका नेवार समुदाय १७६८ मा बागलुङ आएसँगै हनुमान नाच यहाँ पनि नाच्न थालिएको हनुमान नाचका अध्येता प्राज्ञ प्रेम छोटाले बताए । ‘पौराणिक ग्रन्थ रामायणमा आधारित रहेर यो नाचको सुरुवात भएको हो,’ प्राज्ञ छोटाले भने, ‘नेवारको आफ्नो संस्कार र संस्कृतिलाई यस्ले प्रस्तुत गर्छ ।’ यो नाच भक्तपुर लगायत सबै ठाउँमा लोप भएपनि बागलुङमा भने संरक्षण गरिएको उनले बताए । ‘सबै ठाउँमा लोप भएकोले यहाँ नयाँ पुस्तालाई सिकाइएको हो,’ बालबालिकाले यस नाँचलाई उत्साहका साथ निरन्तरता दिएको उनीहरु बताउँछन ।