ठूला पार्टीका एक तिहाई केन्द्रीय सदस्य बिदेशी एजेन्ट हुन् : बिजुक्छे
प्रकाशित २०७४ भदौ १४ बुधबार
361
Shares
भक्तपुर । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले ठूला पार्टीका एक तिहाई केन्द्रीय सदस्य बिदेशी एजेन्टको रुपमा काम गरिरहेको आरोप लगाएका छन् । रफत सञ्चार क्लबले आयोजना गरेको साक्षात्कार कार्यक्रममा बोल्दै बिजुक्छेंले नेपालका हरेक निर्णय गर्दा नेपालीले भन्दा पहिले नै बिदेशीहरुले जानकारी पाउनु र पूर्व योजना अनुसार काम गर्न सफल हुनुमा हरेक ठूला दलहका तिनै एक तिहाई बिदेशी एजेन्टहरुको भूमिका रहेको बताए ।
उनले प्रधानमन्त्री शेरबहादुर देउवाले भारत भ्रमणमा दिएको अभिब्यक्ति संसदको मर्यादा बिपरित रहेको र के बोल्ने भन्ने बारे जानकारी समेत नरहेको बताए । देउवाले पहिले नै गरेको प्रतिवद्धताको पालना गर्दै भारतका प्रधानमन्त्रीका अघि त्यस्तो अभिब्यक्ति दिएको हुन सक्ने उनले बताए ।
संसदले नेपाल र भारतको सिमामा बनाएका बिभिन्न बाँधहरु भत्काउने निर्णय गरिसकेता पनि सरकार चुप लागेर बस्नु नै तराईलाई बाढीको चपेटामा पार्ने काम भएको भन्दै उहाँले हाल बाढी पिडित राहत बितरणमा समेत सरकाले पक्षपात गरेको बताए । निर्वाचन आयोगले निर्वाचनका लागि तोकेको समयमै निर्वाचन सम्पन्न हुने भन्दै निर्वाचन आयोगलाई सरकारले प्रभाव र दबावमा पारी मिति परिवर्तन लगायत अन्यका काम गर्नु देशको हितानुकुल नहुने उनले बताए ।
सिंहदरबारको अधिकार गाउँ गाउँ भन्ने नारा दिएर जनतालाई सरकार र प्रतिपक्षमा रहेको दलका साथै अन्य दलका नेताहरुले भ्रमको खेती गरेको भन्दै उक्त अधिकार सम्बन्धि बिधेयक र कानुनहरु थन्किनु यसको ज्वलन्त उदाहरण रहेको उनले बताए ।
नेपालका प्रधानमन्त्री र पूर्व उपप्रधानमन्त्रीले कहाँ के बोल्ने बारे थाहा सम्म नभएको पछिल्लो समयमा माधब नेपालको उत्तर कोरीया भ्रमणका बारे गरिएको टिप्पणीलाई लक्षित गर्दै पूर्व उपप्रधानमन्त्री बिमलेन्द्र निधिलाई भारत र बिहार बाहेक अन्य स्थानकाबारे थाहा नभएको बिजुक्छेंले बताए ।