इन्जिनियर नआउँदा भूकम्पपीडितको आवास निर्माण प्रभावित
प्रकाशित २०७४ भदौ १५ बिहिबार
548
Shares
म्याग्दी। राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले म्याग्दी जिल्लामा इञ्जिनियर नखटाउँदा भूकम्पपीडितको आवास निर्माण कार्य प्रभावित बनेको छ । प्राधिकरणले जिससमार्फत उपलब्ध गराएको पहिलो किस्ता बुझेका लाभग्राहीले इन्जिनियर नआउँदा चाहेर पनि आवास निर्माणको काम अघि बढाउन नपाएका हुन् ।
जिल्ला समन्वय समिति म्याग्दीले गत आव २०७३÷७४ मा जिल्लामा ८६८ भूकम्पपीडितको पहिचान गरी पहिलो किस्ताबापत पहिलो चरणमा ६४५ पीडितलाई रु ५० हजारका दरले निजी आवास निर्माणका लागि रु तीन करोड २२ लाख ५० हजार अनुदान वितरण गरेको थियो ।
अहिले पहिलो किस्ता लिन बाँकी रहेका र प्रक्रिया पुगेका लाभग्राहीका लागि भन्दै जिससलाई थप रु तीन करोडको अख्तियारी आए पनि नापजाँच गर्ने इन्जिनियर प्राधिकरणले पठाउन सकेको छैन । बेनी नगरपालिका–१० का भीमराज दर्जीले घर बनाउनका लागि पहिलो किस्ताबापतको अनुदान रकम पाए पनि घर बनाउने कामका लागि प्राविधिक सहयोग नपाएको गुनासो गरे।
जिससका अनुसार, गत आवमा बेनी नगरपालिका क्षेत्रमा ३५९, रघुगंगा गाउँपालिकामा ३४, अन्नपूर्णमा ७३, मंगलामा १२६, मालिकामा ३५ र धौलागिरिमा १८ जना पीडितलाई अनुदान उपलब्ध गराइएको छ । लाभग्राहीलाई पायक पर्ने बैंकमार्फत अनुदान वितरण गरिएको थियो ।
अझै रघुगंगामा १११, अन्नपूर्णमा ४१, बेनी नगरपालिकामा ५८ र धौलागिरिमा १२ जना लाभग्राहीले पहिलो किस्ताबापतको अनुदान बुझ्न बाँकी छ । जिससका सूचना अधिकारी पदम भण्डारीले इञ्जिनियर खटाउन प्राधिकरणलाई पत्रमार्फत ध्यानाकर्षण गरिएको बताए । जिससले सबै नगर तथा गाउँपालिकामा छुटेका भूकम्पपीडितको नाम समावेश गर्न वडा कार्यालयमार्फत काम गरिरहेको जनाएको छ । रासस