arrow

यी हुन् ०४८ सालदेखि निर्वाचन क्षेत्र परिवर्तन नभएका १५ जिल्ला (सूची सहित)

logo
सुदर्शन अर्याल,
प्रकाशित २०७४ भदौ १५ बिहिबार

काठमाडौं । प्रजातन्त्रको पुनस्र्थापनापछिको छैटौं संसदीय निर्वाचनको लागि नेपाल अहिले व्यापक तयारीमा जुटीरहेको छ । नेपालको संविधानले व्यवस्था गरेको संघीय गणतान्त्रिक नेपालको शासन व्यवस्थालाई पूर्णता दिनेगरी संविधान कार्यान्वयनको लागि अहिले प्रतिनिधिसभा र प्रदेश सभाको निर्वाचनको तयारी चलिरहेको छ । सो निर्वाचनको लागि निर्वाचन क्षेत्र निर्धारण गर्न गठन गरिएको निर्वाचन क्षेत्र निर्धारण आयोगले पनि सरकारलाई एक सय ६५ क्षेत्र बनाउन सिफारिस गर्दै प्रतिवेदन पनि बुझाईसकेको छ ।  

पञ्चायती शासन व्यवस्थाको अन्त्य भएपछि वि सं. २०४७ साल माघ १० गते आम निर्वाचनको मिति तय गरिएको थियो । जतिबेला भर्खरै घाँटी निमोठिएको दलीय शासन व्यवस्थाले खुलेर आफ्नो उपस्थिती देखाउन पाईरहेका थिए । माघ १० गतेको सो घोषणा बमोजिम नै २०४८ साल बैशाख २९ गते प्रजातन्त्रको पुनस्र्थापना पछि पहिलो पटक प्रतिनिधिसभाको निर्वाचन भएको थियो । सो समयमा कूल २ सय ५ जना प्रतिनिधिहरुको लागि निर्वाचन गरिएको थियो । दुई स्थानबाट निर्वाचनमा छानिएकाहरुले एउटा क्षेत्र छोड्नुपर्ने कानूनी व्यवस्थाका कारण २०४८ साल माघ २५ र २६ गते ४ वटा निर्वाचन क्षेत्रमा उप निर्वाचन गरिएको थियो । 

त्यस्तै, २०४८ साल पछि नेपालमा प्रतिनिधिसभाको निर्वाचन भयो २०५१ सालमा । यस समयमा पनि २०५ वटा नै निर्वाचन क्षेत्रमा निर्वाचन त गरिएको हो । तर, २०४८ सालको क्षेत्र र २०५१ सालको निर्वाचन क्षेत्रको सीमाना भने धेरै ठाउँमा हेरफेर गरिएको थियो । त्यतिबेला २०५१ साल असार २७ गते प्रतिनिधि सभा सदस्यको निर्वाचनका लागि मिति तय गरियो । उक्त निर्वाचन कात्तिक २९ गते तय भएको थियो । यसरी ५१ सालको निर्वाचनमा नै तय गरिएको निर्वाचन क्षेत्रलाई आधार मानेर २०५६ सालमा बैशाख २० र जेठ ३ गते अर्काे प्रतिनिधिसभाको निर्वाचन सम्पन्न भयो । 

त्यस्तै, २०५९ सालमा एउटा असफल निर्वाचनको मिति तय गरियो । निर्वाचनको लागि भनेर सबै तयारी भईरहेको थियो । निर्वाचनको क्षेत्र निर्धारण पनि गरियो । जेठ ८ गते मिति तय गरेर कात्तिक २७ देखि निर्वाचन गर्ने भनेर मिति पनि तय गरियो । तर २०५९ साल असोज १८ गते शाही घोषणाबाट निर्वाचन स्थगित गरियो । त्यसैले सो निर्वाचन घोषणामा मात्रै सीमित भएको मानिन्छ । 

त्यसपछि नेपालमा गठतन्त्रको घोषणागर्न र नयाँ संविधान लेख्नको लागि २०६४ सालमा निर्वाचन गरियो । सो समयमा २०६४ साल चैत २८ गते सो निर्वाचन गरिएको थियो ।  सो निर्वाचनबाट आएका जनप्रतिनिधिहरुले गणतन्त्र घोषणा गरे । तर, संविधान बनाउन नसकेपछि अर्काे संविधान सभाको आवश्यकता भई २०७० साल मंसिर ४ गते दोस्रो संविधान सभाको निर्वाचन सम्पन्न भयो ।अहिले संविधान पनि बनेर संविधान कार्यान्वयनको लागि नयाँ निर्वाचन गरिँदैछ । यसरी २०४७ को परिवर्तनपछि अहिलेसम्म ५ वटा निर्वाचन भईसक्यो भने अहिलेको निर्वाचन सहित ७ वटा निर्वाचनको लागि मिति तय भएको छ । 

निर्वाचन आयोगले दिएको जानकारी अनुसार २०५६ सालमा २०५१ सालमा तय भएको निर्वाचन क्षेत्रलाई नै आधार मानेर निर्वाचन गरिएको थियो २०७० सालको संविधान सभाको निर्वाचनको लागि पनि भने २०६४ मा तय गरिएको  सय ४० निर्वाचन क्षेलाई नै आधार मानिएको थियो । तर, २०४८ सालको निर्वाचनदेखि असहलेसम्मको निर्वाचनमा ५ पटक निर्वाचन क्षेत्र निर्धारण गरिसकिएको छ । 

२०४८ सालदेखि २०५९ सालसम्म समग्र नेपालमा २०५ निर्वाचन क्षेत्रमा विभाजित गरी प्रतिनिधि सभाको निर्वाचन गरिएको थियो । केन्द्रमा २०५ जना प्रतिनिधि चयन गरिने भएपनि जिल्लाभित्र भने धेरै ठाउँमा क्षेत्र निर्धारण गर्दा हेरफेर गरिएको थियो । हाम्राकुराले २०४८ सालदेखि आजसम्म कुनैपनि निर्वाचन क्षेत्र निर्धारण आयोगले हेरफेर नगरेका जिल्लाहरुको विवरण पनि संकलन गरेका छ । हामीले तयार पारेको तथ्यांक अनुसार कूल १५ जिल्ला यस्ता जिल्ला ठहरिएका छन् कि तिनीहरुमा २०४८ सालदेखि आजसम्म कुनैपनि निर्वाचन क्षेत्रको सीमाना हेरफेर गरिएको छैन । एउटा निर्वाचन क्षेत्र हुनेदेखि ३ वटा निर्वाचन क्षेत्र हुने जिल्लाहरुको क्षेत्र हेरफेर नगरिएको पाईएको छ । 

अझ रोचक कुरा त के छ भने राजधानी उपत्यकामा पर्ने ललितपुर र भक्तपुर जिल्ला समेत यस्ता जिल्ला बनेका छन् कि जुन २०४८ सालदेखि आजसम्म पनि समान निर्वाचन क्षेत्रमा सीमित भएका छन् । सुरुमा ५ वटा निर्वाचन क्षेत्र रहेको काठमाडौंमा आजको दिनसम्म आईपुग्दा दोब्बर अर्थात् १० वटा निर्वाचन क्षेत्र पुगिसक्दा सोही समयमा तीन निर्वाचन क्षेत्र रहेको ललितपुर अझैपनि ३ वटामा नै सीमित रहेको छ भने भक्तपुर २ क्षेत्रमा नै सीमित रहेको छ । 

त्यतिबेलादेखि अहिलेसम्म पनि निर्वाचन क्षेत्र परिवर्तन नभएका जिल्लाहरुमा सोलेखुम्बु, रसुवा, मनाङ र मुस्ताङ रहेका छन् । यी जिल्लाहरुमा पहिलेदेखि नै एउटामात्रै निर्वाचन क्षेत्र रहेका थिए । अहिलेपनि ती क्षेत्रमा एउटा नै निवौचन क्षेत्र रहेको छ । यसरी एउटा निर्वाचन क्षेत्र सुरुदेखि नै हुनेमा जुम्ला, हुम्ला, मुगु, बाजुरा र कालीकोट पनि रहेका छन् । अहिलेका प्रधानमन्त्रीको जिल्ला डडेल्धुरापनि पहिलेदेखि नै एउटा निर्वाचन क्षेत्रको रुपमा रहेको छ । 

त्यस्तै, दैलेख, रुकुम र भक्तपुर पनि पहिलेदेखि नै दुई वटा निर्वाचन क्षेत्र रहेका जिल्लाहरु हुन् । अहिले रुकुम दुई भागमा विभाजित भएर रुकुममा पनि एक एक निर्वाचन क्षेत्रको रुपमा विभाजित त भयो तर, यसलाई पनि समग्र रुकुमलाई मान्ने हो भने दुई निर्वाचन क्षेत्रकै रुपमा मान्न सकिन्छ । पहिलेदेखि नै ३ वटा निर्वाचन क्षेत्र रहेको जिल्ला भने ललितपुर मात्रै हो । यो जिल्लामा पहिलेदेखि नै समान ३ वटा निर्वाचन क्षेत्र रहेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ