टोपबहादुरले भने –२ नम्बर प्रदेशको चुनावमा माओवादीले एमालेसँग तालमेल गर्छ
प्रकाशित २०७४ भदौ १५ बिहिबार
453
Shares
काठमाडौं । प्रमुख सत्ता साझेदा दल माओवादी केन्द्रको संसदीय दलका उपनेता टोपबहादुर रायमाझीले आफ्नो पार्टीले २ नम्बर प्रदेशको निर्वाचनमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेसँग चुनावी तालमेल गर्न सक्ने बताएका छन् ।
विहिबार रिपोटर्स क्लबको साक्षात्कारमा रायमाझीले भने, ‘हामी सबै दलसँग चुनावी तालमेल वा सहकार्य गर्न तयार छौं, यो विषयमा हामी छलफल गरेर एउटा टुंगोमा पुग्छौं ।’ यद्यपि, उनले चुनावी तालमेलको लागि सबैसँग खुल्ला छलफल गर्ने यदि सहमति नभए पार्टीले एक्लैपनि चुनाव लड्ने स्पष्ट पारे ।
त्यस्तै, उनले चुनावको लागि भनेर पार्टीले अहिल्यै नै यो पार्टी वा त्यो पार्टी भनेर कुनै पार्टीलाई पनि प्राथमिकतामा नराखेको जिकिर गरे । उनले भने, ‘सबै पार्टी हाम्रो लागि प्राथमिकतामा छन्, एमालेसँगपनि हामी तालमेल गर्छौं, संभावना छ ।’
२ नम्बर प्रदेशको चुनावमा आफ्नो पार्टीले पहिलो स्थान हाँसिल गर्ने उनको जिकिर छ । नेता रायमाझीले थपे, ‘माओवादीले जहिल्यै पनि राष्ट्रिय राजनीतिमा महत्वपूर्ण र निर्णायक भूमिका निर्वाह गर्दै आएको छ, मधेशी, आदिवासी, जनजाति, थारु, महिला सबैको अधिकारको लागि अन्तिम समयसम्मपनि लड्ने पार्टी माओवादी हो, अहिले त्यसैले मधेशमा माओवादी केन्द्र प्रवेश गर्नेको लहर चलेको छ ।’ उनले पटक–पटक आफ्नो पार्टी मधेशमा एक नम्बर पार्टी बन्ने जिकिर गरे ।