दालचिनी खेतीबाट मनग्य कमाएका किसान भन्छन्, ‘बोक्रा पनि विक्छ, पात पनि विक्छ’
रामचन्द्र रायमाझी,
प्रकाशित २०७४ भदौ १६ शुक्रबार
788
Shares
पाल्पा । जिल्लाका दर्जन भन्दा बढी गाउँका कृषकहरुले दालचिनी खेतीबाट मनग्य आम्दानी गर्न सफल भएका छन् । दालचिनी उत्पादनको क्षेत्रमा यातायातको सहज पहुच पुगेपछि जिल्ला वन कार्यालय पाल्पाले बजार व्यबस्थापन तथा संकलन केन्द्रमा विशेष भुमिका खेलेपछि कृषकहरुको आम्दानीको श्रोत बढेको हो । भारत तथा अन्य मुलुकमा मसला, सुगान्धित तेल लगायतका विभिन्न किसिमका औषधि निर्माणको लागी कच्चा पदार्थको रुपमा प्रयोग हुदै आएको दालचिनी खेतीमा पाल्पामा विस्तारित हुदै गएको छ ।
दालचिनीको ब्रोका तथा पात दुवै विक्रि हुदै आएकोले विगत ७ बर्ष देखी पाल्पामा परम्परागत रुपमा हुदै आएको दालचिनी खेती विस्तारै व्यबसायिक रुपमा उत्पादन शुरु भएको छ । दालचिनीको विरुवा उत्पादन देखी विभिन्न पकेट क्षेत्र घोषणा गरेर जिल्ला वन कार्यालय पाल्पाले कृषक लाई दालचिनी खेती प्रति हौसल्ला बढाएको छ । दालचिनी खेती जताततै विस्तार गर्ने योजनाका साथ निजी वन, नम्वरी वन, सामुदायिक वन, सरकारी वन जिल्ला वन कार्यालय पाल्पाले समुह परिचालन गरी विरुवा रोपणको काम शुरु गरेको छ । उत्पादित दालचिनी नेपाल भित्रै विक्रि गर्नको लागी सरकारले राजश्वमा छुट दिएपछि कृषकहरुलाई हौसल्ला तथा उत्साह मिलेको हो । दालचिनी खेतीमा पाल्पामा करीव दश हजार व्यक्तिहरु प्रत्यक्ष रुपमा आश्रित रहेका छन ।
एक पटक लगानी गरेपछि बर्षाै सम्म आम्दानी खान पाईने, पटक पटक दुःख गर्नु नपर्ने, सजिलो खेतीको रुपमा दालचिनी खेती लाई लिने गरिएको छ । पहिले पहिले ब्रोका मात्र विक्रि हुदै आएपनि केही बर्षयता पातको समेत राम्रो मुल्य पर्न थालेपछि आम्दानीमा बृद्धि भएकोले, बार्षिक ५ लाख रुपैयाको दालचिनी तेजपातको कारोवार गर्दै आएको तिनाउ गाउँपालिकाको कोल्डाडाका सुनविर गाहाँले बताए । कोल्डाडा गाविसमा सवैको घर घरमा दालचिनी तेजपातको उत्पादन हुदै आएको छ । प्रत्येक घर परिवारको आम्दानी नै श्रोत नै दालचिनी भएको छ । तेजपातकै आम्दानीले कोल्डाडाका प्रत्येक घर घरमा टिनको छानो लगाईएको छ, सवैको घर घरका सोलर तथा डिस होम जडान गरिएको छ ।
लामो समय सम्म मलेशियामा रोजगारी गरेका सत्यवतिकै जित बहादुर रानाले पनि घरमा दालचिनीको खेती बाट राम्रो आम्दानी हुन थालेपछि मलेशियाको रोजगारी छाडेर गाउँमै दालचिनी खेतीमा लागेको बताए । खरवारी, भिर कान्लामा लगाएको दालचिनी बाट गत बर्ष आफुले ७ लाखको कारोवार गरेको बताउदै रानाले आफ्नो सवै खरवारीमा दालचिनी लगाउने तयारीका साथ काम गरेको बताए ।
जिल्ला वन कार्यालयका सहायक वन अधिकृत चन्द्र बहादुर भाटका अनुसार १ हेक्टर जमिनमा १ हजार ६ सय विरुवा लगाउन सकिने त्यस बाट एक बर्षको अवधिमा २० हजार किलो पात निकाल्न सकिने त्यस वापत १० लाख रुपैया आम्दानी गर्न सकिने, र ९ हजार ६ सय केजी ब्रोक उत्पादन भई ८ लाख ६४ हजार रुपैयाँ आम्दानी गर्न सकिने छ ।
जिल्लामा दालचिनी खेतीको विस्तार बढेको छ, गत बर्ष मात्र कृषकहरुले दालचिनी तेजपातको विक्रि बाट करीव ४ करोड आम्दानी गरेको, जिल्ला वन कार्यालयले कृषकहरु लाई लक्षित गरेर उत्पादन बृद्धिको कार्यक्रम ल्याएको कार्यालय सहायक वन अधिकृत अर्जुन चापागाईका बताए ।
उनका अनुसार कार्यालयले एक घर १० दालचिनीको विरुवा अभियान कार्यक्रम ल्याएको, कृषकहरु लाई तालिमको समेत व्यबस्था गरेको कारण जिल्लामा उत्पादन दर बृद्धि हुदै गएको बताए । बन कार्यालयले आफ्नो नर्सरी बाट मात्र निशुल्क रुपमा यस बर्ष ३ लाख दालचिनी तेजपातको विरुवा वितरण गरेको छ । दालचिनी बाट राम्रो आम्दानी हुन थालेपछि दोभानका गोविन्द पाण्डेले आफ्नै सवै जमिनमा दालचिनीको बिरुवा लगाएको बताए । दालचिनीको आम्दानी बाट सत्यवती, कोल्डाडा, दोभान, ज्यामिरे, फेक, भुवनपोखरी जस्ता गाउँहरुमा सडक निर्माण, विद्यालय भवन, विधुतिकरण भएका छन ।
सरकारले यस्ता बस्तुको प्रशोधन केन्द्र स्थानीय तहमा स्थापनाका लागी पहल गरिदिएको खण्डमा रोजगारीको अवसर सृजना संगै स्वदेशी कच्चा पदार्थको प्रयोगको कारण उद्योग कलकारखाना फष्टाउने, विदेशी मुद्रा आर्जन गर्ने वलियो श्रोतको रुपमा स्थापित हुने देखिन्छ ।