गच्छदारले भने–निर्वाचन क्षेत्र निर्धाणर चित्त बुझेन
प्रकाशित २०७४ भदौ १७ शनिबार
323
Shares
सप्तरी । उपप्रधान एवं स्थानीय विकास मन्त्री विजय कुमार गच्छदारले निर्वाचन क्षेत्र निर्धारण आयोगले बनाएको नयाँ निर्वाचन क्षेत्रको खाका आफुलाई चित्त नबुझेको बताएका छन् । उपप्रधानमन्त्री गच्छदारले क्षेत्र निर्धारण गर्दा आयोगका पदाधिकारीहरुले आफूहरुसँग कुनै सरसल्लाह नगरेको गुनासो समेत गरेका छन् ।
सप्तरीको राजविराजमा पत्रकार सम्मेलन गर्दै उपप्रधानमन्त्री गच्छदारले तराई– मधेसका जिल्लामा पाँच वटासम्म क्षेत्र घटाएको बताउँदै यसबारेमा आफूले जोडदार रुपमा आवाज उठाउने बताए । निर्वाचन क्षेत्र निर्धारण आयोगले बनाएको खाका अनुसार तराईमा साविकको भन्दा एक प्रतिशत प्रतिनिधित्व कम हुने देखिन्छ ।
गच्छदारले, ‘निर्वाचन क्षेत्र निर्धारण आयोगले क्षेत्र निर्धारण गर्दा आफूहरुसँग सरसल्लाह, छलफल गरेको छैन । आयोगको प्रतिवेदनप्रति हामीहरुलाई चित्त बुझेको छैन’–भनेका छन् । संविधानको मर्म र भावना विपरीत जातीय क्लस्टरलाई भत्काएर निर्वाचन क्षेत्र निर्धारण गरिएको गच्छदारको भनाई छ ।
स्थानीय तहको तेश्रो चरणको चुनाव प्रदेश नम्बर २ मा असोज २ गते हुन लागेको सन्दर्भ उठाउँदै गच्छदारले चुनावपछि अधिकार सम्पन्न स्थानीय तह निर्माणको चरण पूरा हुने विश्वास लिए ।
स्थानीय तहको निर्वाचनमा राजनितिक मुद्दाभन्दा पनि विकासको मुद्दालाई प्राथमिकता दिनुपर्ने बताउँदै उनले आफूहरु स्थानीय तह निर्वाचनमा जुनसुकै पार्टीसँग चुनावी तालमेल गर्न तयार रहेको बताए ।